Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वित्तीय विवरण सार्वजनिक गर्ने २१ मध्ये १४ बैंकको सिसिडी रेसियो ७८% नाघ्यो

२०७६ बैशाख २७ गते

वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) सीमानजिक नै देखिएको छ । चालू आवको तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको स्रोत परिचालनमा अझै समस्या देखिएको हो । बैंकहरूले निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन कायम गर्न नसक्दा सिसिडी रेसियो सीमानजिक देखिएको हो । 

बैंकहरूले निक्षेप तथा पुँजीमा कर्जाको अनुपात ८० प्रतिशत कायम राख्नुपर्छ । अर्थात्, बैंकहरूले कुल निक्षेप र पुँजीको ८० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँछन् । बुधबारसम्ममा २१ वटा वाणिज्य बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसमध्ये १४ वटा बैंकको सिसिडी रेसियो ७८ प्रतिशतभन्दा माथि छ । एउटा वाणिज्य बैंकको ७९ प्रतिशत नाघिसकेको छ । बाँकी ८ मध्ये दुईवटाको सिडिडी रेसियो मात्रै ७६ प्रतिशतभन्दा तल छ । लगानीयोग्य तरलतामा चाप परिरहेकै कारण दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सिसिडी रेसियो अझ साँघुरिएको छ । नेपाल बैंक, एभरेष्ट, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, कुमारी, सिद्धार्थ, मेगा, सनराइज र नेपाल बंगलादेश बैंकको सिसिडी रेसियो अझ सीमानजिक बढेको छ । त्यस्तै, एसबिआई, प्रभु, माछापुच्छ्रे, एनएमबि, सिटिजन्स, बिओके र ग्लोबल आइएमईको भने केही घटेको छ ।
 
 सिसिडीलाई अन्तरबैंकको भर !

निक्षेप तथा कर्जा परिचालनमा सन्तुलन मिलाउन नसक्दा बैंकहरूले सिसिडी रेसियो कायम गर्न अन्तरबैंक कारोबारको समेत उपयोग गर्न थालेका छन् । पछिल्लो समय अन्तरबैंक कारोबारबाट सिसिडी रेसियो कायम गर्ने ट्रेन्ड बढेको राष्ट्र बैंकका एक अधिकारीले बताए । चालू आवको आठ महिनामा वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर पनि ०.२८ बिन्दु प्रतिशतले बढेको छ । ०७४ फागुनमा ४.८७ प्रतिशत रहेको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर ०७५ फागुनमा आइपुग्दा ५.१५ प्रतिशत कायम भएको केन्द्रीय बैंकको तथ्यांक छ । आठ महिनामा वाणिज्य बैंकहरूले १० खर्ब  ५ अर्ब ४८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।

 बैंकहरू कारबाहीको डरमा 

सिसिडी रेसियो सीमानजिक हुँदै जाँदा वाणिज्य बैंकहरूमा त्रास पनि बढेको छ । केन्द्रीय बैंकले बैंकहरूलाई सिसिडी रेसियोका बारेमा सचेत गराउँदै आएको छ । खासगरी कल डिपोजिट र अन्तरबैंक कारोबारले सिसिडी रेसियो कायम गरिरहेका बैंकहरू बढी त्रासमा छन् । अघिल्लो त्रैमासमा केन्द्रीय बैंकले ४–५ वटा बैंकलाई सिसिडी रेसियो कायम गर्न नसकेको भन्दै कारबाही गरेको थियो । अहिले पनि केही बैंक कारबाहीको नजिक नै देखिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए । 

सचेत हुनुपर्छ : बैंकर 

बैंकहरूको सिसिडी रेसियो ७८ प्रतिशत नाघ्नेबित्तिकै सचेत हुनुपर्ने बैंकरहरू नै बताउँछन् । अझ अन्तरबैंक कारोबार र कल डिपोजिट धेरै भएकाहरूले सिसिडी रेसियोमा बढी चिन्तित हुनुपर्ने उनीहरूको भनाइ छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह सिसिडी रेसियो कम्तीमा २ प्रतिशत मार्जिन राख्नुपर्ने बताउँछन् । ‘साना बैंकले ७८ प्रतिशत नघाउँदा पनि समस्या हुँदैन, म्यानेज गर्न सक्छन्,’ उनले भने, ‘तर, ठूला बैंकहरूले सिसिडीलाई ७८ प्रतिशतभन्दा तल नै राख्नुपर्छ ।’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले सिसिडी रेसियोप्रति सचेत हुँदै लगानी गर्नुपर्ने बताउँछन् । ‘निक्षेप र पुँजीलाई त्यसै आइडल राख्ने कुरा त भएन, लगानी गरेर प्रतिफल कमाउनैपर्छ,’ उनले भने, ‘तर, सिसिडी रेसियो ७८ प्रतिशत नाघेपछि भने सचेत हुनैपर्छ ।’

एक महिनामा ११ अर्ब निक्षेप घट्यो, कर्जा ३० अर्ब बढ्यो  

वैशाख महिना लागेपछि वाणिज्य बैंकहरूको निक्षेप घटेको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकले देखाएको छ । यद्यपि, कर्जा वृद्धिले भने निरन्तरता पाएको छ । वैशाख पहिलो साता २७ खर्ब २ अर्ब रुपैयाँ पुगेको निक्षेप अन्तिम सातामा आइपुग्दा ६ अर्ब रुपैयाँले घटेको छ । २० वैशाखसम्म वाणिज्य बैंकहरूले २६ खर्ब ९६ अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् । यद्यपि, कर्जा भने ४ अर्ब रुपैयाँले बढेको छ । वैशाखको पहिलो साता २४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह तेस्रो सातामा आइपुग्दा बढेर २४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो एक महिनाको तथ्यांकलाई हेर्दा वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब रुपैयाँले घटेको तथा कर्जा प्रवाह ३० अर्ब रुपैयाँले बढेको छ । एक महिनाअघि २४ चैतमा बैंकहरूको निक्षेप २७ खर्ब ७ अर्ब रुपैयाँ पुगिसकेको थियो । कर्जा भने २४ खर्ब १३ अर्ब रुपैयाँ प्रवाह भएको थियो ।  नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 

Ad