June 10th, 2016

छलफल गर्ने सहमतिमा खोलियो कृषि विकास बैंकमा लगाइएको ताला

adblकन्चनपुरको दोधारामा रहेको कृषि विकास बैंक शाखा कार्यालयमा शुक्रबार बिहान लगाइएको ताला प्रहरीले दिउँसो खोलेको छ । दोधारा चाँदनी–६ बस्ने प्रेम बहादुर थापाको जग्गा मिलिमतोमा लिलाम गरेको भन्दै सर्वदलीय समिति र स्थानीय बासिन्दाले बैंकका पाँच जना कर्मचारीलाई कार्यालयभित्र थुनेर तालाबन्दी गरेका थिए । घटनाका बारेमा सर्वदलीय समिति बसेर छलफल गर्ने सहमतिमा तालाबन्दी खोलिएको प्रहरीले जनाएको छ । 

किन लगाइयो ताला ?
बैंकले दुई लाख एक हजार ऋण असुली गर्न थापाको एक करोड पर्ने सम्पत्तिको मुल्यांकन नै नगरी मिलिमोतोमा दुई लाख चार हजारमा लिलाम गरेको दोधाराका पूर्व गाविस सचिव बेलबहादुर रानाले आरोप लगाए । चार जनाको जग्गा लिलाम प्रक्रियामा गएकोमा तीन जनाको जग्गा बैंकले आफ्नै नाममा राखेको र थापाको असुल उपर गर्नुपर्ने ऋण भन्दा तीन हजार मात्र बढी रकम लिएर लिलाम गरेकाले मिलिमोतो हुनसक्ने पूर्व गाविस सचिव राणाले बताए । थापाले २०७० भदौ २७ गते ७० हजार रुपैयाँ ऋण निकाल्न पक्की घरसहित आठ कठ्ठा जमिन धितो राखेका थिए । बैंकका म्यानजरले गणेश चन्दले भने ऋण बराबर नै रकम असुल उपर गर्नु पर्ने भएकाले रकम बराबरमा जग्गा लिलाम गरिएको भन्दै लिलाम प्रक्रियामा कुनै मिलिमोता नभएको बताए । पटक पटक ताकेता गर्दा पनि थापाले ऋण भुक्तानी नगरेकाले बैंक बाध्य भएर लिलाम प्रक्रियामा गएको उहाँले बताए । चन्दका अनुसार यसअघि वैशाख १४ गते र जेठ २३ गते जनसरोकार राष्ट्रिय दैनिक पत्रिकामार्फत लिलाम प्रक्रियाका बारेमा सूचना समेत प्रकाशित गरिएको थियो ।