May 5th, 2019

राष्ट्र बैंकले १ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड ५५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरी २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३ सय ६५ दिनको लागि मुद्दती निक्षेपमा रकम राख्ने जनाएको हो । त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो ।

बैंकले १ अर्ब ४ करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका १९ करोड ५८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५३ लाख निक्षेप राख्ने जनाएको छ ।

बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने जनाएको छ । यस्तै, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने लगायतका सर्त समेत राखिएको छ ।

त्यस्तै निक्षेप लिनका लागि सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने छ । निक्षेप लिनका लागि योग्य कुनै पनि बेंक तथा वित्तीय संस्थाले यही बैशाख २३ गते भित्र सिलबन्दी फारम भरी आवेदन दिन आग्रह गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]