April 25th, 2019

बैंकबाट ऋण लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यस्ता कुरामा

बैंकिङ खबर । निश्चित अवधिपछि व्याजसहित ९वा साँवा मात्र० फिर्ता गर्ने शर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो । आफ्नो रकम प्रयोग गर्दा विस्तारै वचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तरुन्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ ।

आफ्नो रकम कुनै दायित्व विना नै प्रयोग गर्न सकिन्छ भने ऋणले दायित्व सिर्जना गर्ने र त्यसको लागत व्यहोर्नु पर्ने हुन्छ । कर्जा सामान्यतया चालु पुँजी कर्जा, सम्पत्ति खरिद कर्जा, उपभोग कर्जा, लगानी कर्जा आदि गरी विभिन्न प्रकारका हुने गर्दछन् ।

कुनै पनि उद्यम व्यवसाय गर्नका लागि वित्तीय श्रोतको व्यवस्था गर्नु पर्ने हुन्छ । जस्तै, गाई–भंैसी पाल्न, रिक्सा किन्न, सानो ठुलो व्यापार गर्न, उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि किसिमका आय आर्जनमुलक कारोबार गर्नका लागि सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफुसँग नहुन पनि सक्दछ । पहिला पहिला परम्परागत रूपमा साहु महाजनहरूले पैसा उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को व्याज असुल उपर गर्दथे । त्यसकारण बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भएको र गरिब तथा धनी जसलाई पनि बैंकले सहुलियत रुपमा ऋण उपलब्ध गराउँदै आएका छन् ।

बैंक तथा वित्तयि संस्थाहरू कानुन बमोजिम स्थापना र सञ्चालन हुने हुँदा कानुन बमोजिम मात्र व्याज असुल गर्दछन् । यी संस्थाहरुले पनि फाइदा लिन खोजेमा सुपरिवेक्षण गर्ने संस्थाले सुपरिवेक्षण गर्दछ र कानुनी दायरामा मात्र सीमित हुन निर्देशन दिन्छ । यदि नमानेमा बैंक तथा वित्तीय संस्थाले कारवाहीको भागीदार बन्नु पर्दछ ।

बैंकबाट ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु

तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा वा ऋण लिनु हुँदैन ।

भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनु पुर्व परिवारका सदस्यहरूसँग समेत सरसल्लाह गर्नु पर्छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त औपचारिक संस्थाहरूबाट मात्र ऋण लिने गरेमा अनावश्यक ठगी हुनबाट र चर्को व्याजदरबाट बच्न सकिन्छ ।

ऋण लिनु पुर्व तुलनात्मक रूपमा महँगो व्याजदर नलगाउने, अन्याय पुर्ण शर्तहरू नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, व्याजका अतिरिक्त अन्य थप शुल्कहरू कम मात्र लिने, ऋण
प्रक्रिया छिटो एवम् सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नु पर्ने या नपर्ने जस्ता विषयहरू सोधपुछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी सो संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ ।

ऋणको साँवा र व्याजको किस्ता कहिले–कहिले र कति–कति रकम तिर्नुपर्ने हो सोबारे प्रष्ट जानकारी लिनु पर्छ ।

तपाईंको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा र व्याज तिर्न पुग्ने हुनुपर्छ ।

मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात् पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ ।

ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरुन्तै आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा व्याज कसरी भुक्तानी गर्ने हो सोको योजना पनि बनाउनु पर्छ ।

जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नु पर्दछ । यदि त्यस्तो काममा लगानी गरिएन भने कर्जा दरुपयोग भएको मानिनुका साथैपछि कर्जा भुक्तानी गर्न सकिन्न ।

समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कानुनी कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ ।

सामुहिक जमानीमा ऋण लिएको भए समुहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाव व्यहोर्नु पर्ने हुन्छ ।

बैंकबाट लिएको ऋणको साँवा व्याज समयमा बुझाउन नसक्दा अनन्तः कर्जा सुचना केन्द्रको कालो सुचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैँ सजग रहनु पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]