June 10th, 2016

शेयर लगानीमा सर्वसाधारणको आकर्षण बढ्नुका ५ कारणहरु

stockपछिल्लो समय दोस्रो बजारमा भन्दा पनि पुँजी बजारको प्राथमिक शेयरमा लगानी गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको पाइन्छ । विभिन्न कम्पनिले सर्वसाधारणका लागि छुट्याएको प्राथमिक शेयरमा नै सर्वसाधारण लगानीकर्ताको बढी आकर्षण देखिएको छ । कुनै नयाँ कम्पनिको शेयर खुल्नासाथ ठूलो संख्यामा आवेदनको माग हुने गरेको छ । शेयर बजारमा लगानी गर्नेको संख्या अहिले झन्डै १५ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ । यो संख्या बढ्दो क्रममा रहेको छ । खासगरी सर्वसाधारण लगानीकर्ताहरु बैँक, लघुवित्त कम्पनि तथा जलविद्युत् कम्पनिहरुमा लगानी गर्न आकर्षित भइरहेको पाइन्छ । यसरी शेयर बजारमा सर्वसाधारण लगानीकर्ताका आकर्षण बढ्नुका विभिन्न कारणहरु हुन सक्छन् । 

बैँकमा राखेको बचतको व्याजदर कम पाइने हुन्छ । त्यसमाथि व्याजको ठेगान पनि नहुने र व्याजदर पनि कम पाइने भएकाले छिटै धेरै कमाइ हुने आशामा शेयर बजारमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढेको हो ।

पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुले प्राथमिक शेयर अर्थात् आईपीओ र सेकेन्डरी मार्कट अर्थात् नेपाल स्टक एक्सचेन्जमार्फत् लगानी गर्न सक्छन् । दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताहरुलाई जोखिम पर्न सक्छ । आईपीओमा लगानी गर्दा भने त्यो जोखिम रहँदैन । यस काराणले पनि साना तथा नयाँ लगानीकर्ताको आकर्षण प्राथमिक शेयरमा बढेको हो । 

विगतमा बैँकहरु शेयरमा मात्र बढी आकर्षण रहने गरेकोमा पछिल्लो समय जलविद्युत् कम्पनिहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपालमा जलविद्युत् विकासको प्रशस्त सम्भावना भएको र जलविद्युत आयोजना विकासका लागि प्रशस्त लगानी पनि लाग्ने भएकाले सर्वसाधारणको आकर्षण त्यसतर्फ बढेको हो । 

त्यस्तै, पछिल्लो समय नेप्से व्यवस्थित बन्दै गइरहेको छ । डिम्याट शेयर, मार्केट डेप्थ जस्ता प्राविधिक परिमार्जनले पनि शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढाइरहेको छ । आफूले लगानी गरेको कम्पनिको वास्तविक अवस्था बुझ्न कार्यालयमै जानुनपर्ने, घरमै बसीबसी इन्टरनेटमा हेर्न सकिने लगायतका सुविधाहरुले पनि शेयरमा लगानी गर्ने सर्वसाधारणको संख्यामा वृद्धि आएको हो ।

शेयर बजारमा मुलुकको आर्थिक, राजनीतिक र सामाजिक अवस्था, नयाँ नीति तथा नियमहरु लगायतले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । मुलुकको अवस्था राम्रो हुँदा लगानीकर्ताको मनोबल बढ्ने र मुलुकको अवस्था विग्रिँदा लगानीकर्ताको मनोबल घट्ने हुन्छ । पछिल्लो समय मुलुकको अवस्था पनि सुध्रिँदै गइरहेको छ । हुन त भुकम्प र नाकाबन्दीको असर शेयर बजारमा खासै देखा परेन । त्यसमाथि संविधानमा उल्लेख भएअनुसारको समयमा नै बजेट सार्वजनिक भएकाले बजारमा त्यसको राम्रो प्रभाव देखिएको छ । असारको अन्तिम सातामा मौद्रिक नीति आउँदैछ । यी सबै कुराहरुले पनि शेयर बजारमा प्रभाव पारिरहेकोे छ । एकपछि अर्को गर्दै नेप्सेले नयाँ नयाँ रेकर्डहरु बनाइरहेको छ । १५ सयभन्दा माथिको अंकमा रहेको् परिसूचक अझै कति बढ्छ भन्ने कुराको अनुमान गर्न नकिने विश्लेषकहरुले बताउँदै आएका छन् ।