April 24th, 2019

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १५ अर्ब पठाउने

बैंकिङ खबर । केही बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव देखिन थालेपछि नेपाल राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बुधबार दिउसो ३ बजे सम्म ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु बोल कबोल मार्फत सहभागि हुन सक्ने छन् ।

पैसा लैजान चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ प्रतिशत ब्याजदर नघटाई बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने छ । रिपोको अवधि भने ७ दिनको मात्र हुने छ । बैशाख ११ जारी भएको रिपो बैशाख १८ गते परिपक्व हुने छ ।

पछिल्लो समय केही वाणिज्य बैंकहरुमा लगानी योग्य रकमको अभाव हुँदा कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत भन्दा माथि पुगेको देखिन्छ । सिसिडीलाई व्यवस्थापन गर्न बैंकहरु अन्तरबैंक कारोबारमा जोड दिएका थिए । यसले गर्दा अन्तरबैंक ब्याजदर बढेर साढे पाँच प्रतिशत भन्दा माथि पुगेको बैंकर्सहरु बताउँछन् । राष्ट्र बैंकले रिपो मार्फत बैंकहरुमा तरलता पठाएर अन्तर बैंक ब्याजदर घटाउन खोजेको देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]