काठमाडौं । वाणिज्य बैंकको आधार दर घटे पनि कर्जाको ब्याजदर नघटेको उद्योगी व्यवसायीहरूले गर्दै आएको गुनासो सत्य भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर निर्धारण गर्ने मापदण्ड आधार दर हो । आधार दरमा बैंकहरूले प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् ।
राष्ट्र बैंकले कर्जामा बढी दबाब नपरोस् भनेर केही महीनाअघि आधार दर गणना विधिमा परिवर्तन गरेको थियो । नयाँ व्यवस्था अनुसार आधार दर गणना गर्दा सम्पत्तिमा प्रतिफल बापत शून्य दशमलव ७५ प्रतिशत जोड्नुपर्ने प्रावधान हटाइएको थियो । यो व्यवस्थाले आधार दर घटेर कर्जाको ब्याजदर पनि घट्नुपर्ने हो । तर, कर्जाको ब्याजदर उल्टै बढेको तथ्यांकमा देखिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा वाणिज्य बैंकहरूको औसत आधार दर २०७५ फागुनमा ९ दशमलव ६५ प्रतिशत कायम भएको छ । यस्तो दर २०७४ फागुनसम्ममा १० दशमलव ३६ प्रतिशत थियो । यसबीचमा औसत आधार दर यसरी शून्य दशमलव ७१ प्रतिशत विन्दुले घटेको भए पनि सोही अवधिमा वाणिज्य बैंकले दिने कर्जाको भारित औसत ब्याजदर भने शून्य दशमलव ३७ प्रतिशत विन्दुले बढेको छ । २०७५ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत छ । २०७४ फागुनमा यस्तो दर ११ दशमलव ९६ प्रतिशत थियो ।
आधार दर गणना विधिलाई पालना भए/नभएको बारे छानविन गरी कडाइसमेत थालेको राष्ट्र बैंकले बताएको थियो । खासगरी, कर्जाको ब्याजदरमा प्रभाव पार्ने आधार दर र जारी गरेका निर्देशन पालना भए/नभएको बारे सुपरिवेक्षण गरिएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले जानकारी दिएका थिए । राष्ट्र बैंकको तथ्यांकले भने जति कडाइ गरे पनि कर्जाको ब्याजदर घट्न नसकेको स्पष्ट देखिन्छ ।
निक्षेपको भारित औसत ब्याजदरमा भने केही सुधार भएको छ । प्रतिवेदन अनुसार २०७५ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत छ । २०७४ फागुनमा यसको दर ६ दशमलव ४५ प्रतिशत थियो । अभियानमा प्रकाशित समाचार ।