निजी क्षेत्रका प्रतिनिधिमूलक संगठनबीच सहकार्यको पहल

नेपाल उद्योग परिसंघको नयाँ नेतृत्वले निजी क्षेत्रका प्रतिनिधिमूलक संगठनबीच सहकार्यको पहल गर्ने भएको छ । गतसाता परिसंघमा नयाँ नेतृत्व चयन भएसँगै सहकार्यको प्रयास भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोरले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सलगायतका संगठनबीच सहकार्य गर्ने संकेत गरेका हुन् । 

निजी क्षेत्र विभाजित हुँदा नीति निर्माणको तहमा अप्ठेरो परेको भन्दै सरकारले पनि साझा धारणा बनाउन अपिल गर्दै आएको छ । यसअघि सँधै विभिन्न खेमामा विभाजित हुने यी प्रतिनिधिमूलक संस्थाहरू अब भने मिलेरै जाने संकेत गरेका हुन् । परिसंघ अध्यक्ष मोरले निजी क्षेत्र अब एक ढिक्का भएर सहकार्य गर्ने बताए । 

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू आपसमा विभाजित बनेपछि सरकारसंगको नीतिगत लबिङ कमजोर कमजोर भएको छ । निजी क्षेत्रमैत्री नीतिनियम, लगानीका लागि उचित वातावरण र पूर्ण सुरक्षाको प्रत्याभूति हुन नसकिरहेका बेला निजी क्षेत्रभित्र नै आपसी विभाजनले नीतिगत लबिङ कमजोर भएको छ । “निश्चय पनि सहकार्य हुन्छ, एफएनसीसीआईका पदाधिकारीहरूसँग पनि कुरा भइसकेको छ र चेम्बरका पदाधिकारीहरूसँग पनि कुरा गरेको छु,” परिसंघ अध्यक्ष मोर भन्छन्, “उहाँहरूसँग अर्थतन्त्रका मुख्य एजेण्डाका विषयमा छलफल र सहकार्य हुनेछ, हामी मिलेर गयौं भने मात्र सरकार, संसदलगायतमा छलफल गर्न सजिलो हुन्छ ।” सहअस्तित्व स्वीकार्न आफूहरू कसैलाई समस्या छैन, सहकार्य यसकै आधारमा हुनेछ हामी मिलेर गयौं भने सरकारलाई पनि सजिलो हुनेछ भने हामीलाई झनै सहज हुन उनी बताउँछन् । अन्ततः निजी क्षेत्रको लक्ष्य भनेको मूलकको दिगो र फराकिलो दोहोरो अंकको आर्थिक वृद्धि नै भएकोले संकुचित भएर बस्नु जरुरी नभएको उनको अनुभव छ । 

यता महासंघ अध्यक्ष भवानी राणाले भने व्यवसायीको हक हित र प्रवद्र्धनकै लागि महासंघ स्थापना भएको र भविष्यमा पनि सबै व्यवसायीलाइ मिलाएर जान चाहेको बताइन् । देशलाई स्थायित्वतर्फ अगाडी बढाउन महासंघले गरेका काम ऐतिहासिक छन् । संविधान निर्माण, राजनीतिक स्थायित्व र व्यवसायीको हकहित, नीतिगत सुधारका लागि गरिएको लबिङ, र समयसमयमा उठाउँदै आएका आवाजमा महासंघ प्रभाव अभुतपुर्व भएको उनले बताइन । निजी क्षेत्रको मुद्दामा मिलेर जानुको विकल्प नभएको नभएको उनको भनाइ थियो । 
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि सबैको उद्देश्य व्यवसायीको हित र आर्थिक समृद्धि भएकोले मिलेर जानुमा सबैको हित हुने बताउँछन् । महासंघबाट सदस्यता त्याग गर्र्दै अब समानान्तर रुपमा अगाडी बढ्ने नेपाल चेम्वर अफ कमर्सले निर्णय भए पनि व्यावसायिक हितमा भने एकजुट हुने उनको भनाइ थियो । 

देश संघीयतामा गइसकेपछि चेम्बर अफ कर्मले पनि आफ्नो संगठन विस्तारमा जोड दिएको र छिट्टै नै सबै जिल्लामा चेम्वर पुग्ने भएको छ । हालसम्म ६६ वटा जिल्लामा चेम्बर अफ कमर्शको आफ्नो उपस्थिती जनाएको छ । चेम्बरले महासंघसँग संस्थागत सदस्यता त्यागेपनि चेम्बरका अधिकांश सदस्य कुनै न कुनै रुपमा महासंघसँग आवद्ध छन् । महासंघका वस्तुगत समितिका सदस्यहरू चेम्बरका पनि सदस्य हुन् भने एशोसियटमा प्रत्यक्ष सदस्य पनि छन् । महासंघका देशभर रहेका १०५ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *