२०७५ चैत्र २७ गते

अलैंची खेती गर्दै हुनुहुन्छ ? ढुक्क हुनुहोस् यस्ता जोखिमलाई बीमाले सुरक्षा दिन्छ

बैंकिङ खबर । नेपाल एक कृषि प्रधान देश हो । नेपालको तराई प्रदेशलाई अन्न भण्डारको रुपमा पनि चिनिन्छ । नेपालमा कृषि व्यवसायको राम्रो सम्भावना रहे तापनि उचित रुपमा कार्यान्वयन हुन सकेको छैन् । कृषि क्षेत्रमा विकसित भएका विभिन्न किसिमका उपकरणहरुको प्रयोग हुन नसक्नु साथै आर्थिक अवस्थाको पहँुच नहुनु जस्ता थुप्रै कारणहरुले नेपालको कृषि व्यवसाय फस्टाउन सकेको छैन् ।

बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटेको छ । अलैंचीको बीमा गर्न न्यूनतम ३०० बोट हुनु पर्छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने व्यवस्था छ ।

अलैंची बीमाले रक्षावरण हुने जोखिम
आगलागी, चट्याङ, भूकम्प, बाढी र डुबान, खडेरी, पहिरो र भूस्खलन, आँधी तथा हुरिबतास, असिना, हिँउ वा तुषारो, आकस्मिक दुर्घटना अथवा बाह्य कारण, कीरा तथा रोगबाट हुने हानी नोक्सानी जस्ता जोखिमलाई बीमाले कभर गर्दछ ।

क्षतिपुर्ति नदिने अवस्थाहरु
बीमा कम्पनीहरुले सबै अवस्थामा बीमालेखको दाबी भुक्तानी भने दिदैन । अलैँचीखेती भनी अन्य कृषि उपज वा निजको परिवारको लापरवाहीको कारणबाट क्षति भएमा, कानुनी निकायको आदेशमा बीमा गरिएको अलैची खेतीलाई नष्ट गर्नु परेमा, बीमा गरिएको अलैची यदि चोरी भएमा, युद्ध, अतिक्रमण, जस्ता कारणबाट बीमा गरिएको अलैची नष्ट वा क्षति भएमा, अलैची खेती भनी बीमा प्रस्ताव फाराममा झुट्टा विवरण दिएमा र बाँझोपनको कारणबाट अलैची उत्पादन नभएमा यस बीमालेखले सुरक्षण प्रदान गर्दैन ।

बीमा शुल्कमा ७५ प्रतिशत अनुदान
अलैंचीको बीमा गर्दा लाग्ने पूरै बीमा शुल्क किसानले बेहोर्नु पर्दैन । सरकारले कृषि बीमालाई प्रभावकारी बनाउन बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सरकारले २०७० सालदेखि कृषि बीमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो भने त्यसलाई संशोधन गर्दै २०७१ साल यता यो सीमालाई ७५ प्रतिशत र्पुयाएको छ ।

दाबी प्रक्रिया
रक्षावरण भएका जोखिमहरूबाट ५ प्रतिशतभन्दा बढी नोक्सानी भएमा किसानले क्षतिपूर्तिको दाबी गर्न पाउँछन् । साथै, बीमा अवधिभर ७५ प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति अनुसारको दाबी भुक्तानी पाउने व्यवस्था छ ।

तोकिएको जोखिमका कारण अलैंची खेतीमा नोक्सानी भएमा १५ दिनभित्र कम्पनीमा दाबी पेश गर्नुपर्छ । दाबी पेश गर्दा सक्कली बीमालेख, दाबी फाराम, प्राविधिकको प्रतिवेदन, मुचुल्का, क्षति भएको अलैंचीको फोटो लगायत कागजपत्र किसानले समावेश गर्नुपर्छ । त्यसपछि कम्पनीहरूले आवश्यक प्रक्रिया पु¥याएर किसानलाई वास्तविक क्षतिको ९० प्रतिशतसम्म दाबी भुुक्तानी गदर्छन् ।