April 9th, 2019

सहकारीबाट ऋण लिएर व्यावसायिक कृषि

बैंकिङ खबर । सहकारीले सहज रूपमा ऋण दिन थालेपछि ग्रामीण किसान व्यावसायिक कृषिमा आकर्षित हुन थालेका छन् । सामान्य पशुपालन र खेती गर्ने किसान सहकारीबाट ऋण पाएपछि व्यावसायिकरूपमा काम गर्न थालेका हुन् ।

सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था भोटेचौर सिन्धुपाल्चोकका अध्यक्ष अध्यक्ष शिवप्रसाद चौलागाईं सहकारीको ऋणका कारण गाउँमा व्यावसायिकरूपमा खेती र पशुपालन गर्नेको संख्या बढ्न थालेको बताउँछन् । “बैंक तथा वित्तीय संस्थाले गाउँका घर(जग्गा राखेर ऋण दिँदैनन,” उनले भने, “बैंकले नपत्याएका किसानलाई सहकारीले ऋण दिन थालेपछि व्यावसायिकरूपमा पशुपालन, बाख्रापालन, कुखुरापालन, तरकारी खेती गर्नेको संख्या बढेको छ ।”

सहकारीले राष्ट्रिय सहकारी बैंकबाट थोक कर्जा लिएर कृषिलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । सहकारीले सहयोग गर्न थालेपछि भोटेचौर क्षेत्रमा व्यक्तिगत र संस्थागतरूपमै व्यावसायिकरूपमा कृषि गर्नेको संख्या बढ्दै गएको हो ।

मलेसियामा चार वर्ष सुरक्षा गार्डको काम गरेका राजन गुरुङ, देवेन्द्र गुरुङलगायतका २३ जना साथी मिलेर भोटेचौरमै सामूहिक किबी खेती सुरु गरेका छन् । उनीहरूले हरियाली कृषक समूह गठन गरी ३९ रोपनी जग्गामा सुरु भएको किबी खेतीमा सहकारीको ३५ लाख ऋण छ ।

उच्च मूल्य रहेको किवी खेतीलाई उनीहरूले एक करोडसम्म लगानी गर्ने योजना बनाएका छन् । भोटेचौरकै अर्का किसान सुन्दर चौलागाईंलगायतका किसान मिलेर अन्नपूर्ण अग्र्या्निक कृषि कम्पनीमार्फत १५९ रोपनी जग्गामा पनि व्यावसायिक किवी खेती सुरु भएको छ । सहकारीको ३५ लाख रूपैयाँ ऋण लिएर सुरु गरिएको यस परियोजनामा एक करोड ५० लाख लगानी गर्ने योजना उनीहरूको छ ।

यसैगरी मेलम्ची–३ बाजखेतका पुरुषोत्तम खतिवडाले पनि आठ वर्ष दुवईमा बिताए । आफ्नै बचतबाट तीन सयवटा कोइलर चल्लाबाट सुरु गरिएको व्यवसायलाई उनले सहकारीबाट ऋण लिएर विस्तार गर्दै लगेका छन् । उनले हाल चार हजार कुखुरा अट्ने क्षमताको खोर बनाएर ३ हजार कोइलर कुखुरा पालन गरिरहेका छन् । उनको अजित कृषि फार्मले कुखुरासँगै मौसमअनुसारका व्यावसायिक तरकारी उत्पादनसमेत गर्दै आएको छ ।

यसैगरी भोटेचौरकै कृषक गायत्री चौलागाईले व्यावसायिकरूपमा भैंसीपालन गरिरहेकी छन् । सहकारीका साथै लघु्वित्तबाट समेत ऋण लिएर भैंसिपालन गरिरहेकी उनी सस्तो व्याजमा ऋण पाए यसलाई अझै बढाउने बताउँछिन् ।

काठमाडौंबाट नजिक रहेको र सडक यातायातको राम्रो सुविधा रहेको भोटेचौरमा व्यावसायिकरूपमा कृषिको काम बढिरहेको छ । भूकम्पपछि व्यावसायिकरूपमा कृषिमा लाग्नेको संख्या बढेको र यसका लागि सहकारीले सहयोग गरिरहेको सहकारी संस्थाका अध्यक्ष चौलागाईं बताउँछन् । सहकारीले राष्ट्रिय सहकारी बैंकबाट ८५ लाख रूपैयाँ ऋण लिएर सदस्यलाई लगानी गरिरहेको र त्यो अपुग भएको उनले बताए । “व्यावसायिक कृषिका लागि ऋण माग्नेको संख्या बढिरहेको छ,” उनले भने, “तर हामीसँग पुँजी अभाव भएकाले मागेजति ऋण दिन सकेका छैनौं ।” यसैगरी सहकारीको ऋण महंगो भएकाले यसलाई घटाउनुपर्ने र सहुलियत कर्जाहरू सहकारीमार्फत परिचालन गर्नुपर्ने उनले बताए ।

सहकारी संस्थाले सदस्यहरूलाई बचत तथा ऋणका अतिरिक्त सुपथ मूल्यमा मल तथा बीउ उपलब्ध गराउनुका साथै व्यावसायिक परामर्शसमेत दिँदै आएको छ । यसका लागि २ जना जेटिए र एक जना पशु प्राविधिक राखिएको अध्यक्ष चौलागाईंले बताए ।

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिइएको बताउँछन् । “अहिले हामीसँग भएको पुँजीको लागत नै उच्च भएकाले व्याजदर महंगो नै छ,” उनले भने, “उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न अन्य कर्जाभन्दा यसमा ०.५ प्रतिशत कममा ऋण दिँदै आएका छौं ।” सहकारीमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन कृषि कर्जामा दिँदै आएको व्याज अनुदान सहकारीलाई पनि दिनुपर्ने उनको भनाइ थियो । करोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]