रूपन्देही-केही वर्षयता लगानीका लागि अब्बल मानिएको रूपन्देहीमा उद्योग, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढ्दै गएको छ । लगानीमैत्री वातावरण बन्दै जाँदा बैंकहरूले पनि कर्जा लगानी बढाउँदै लगेका छन् । गत पुस मसान्तसम्म मात्रै रूपन्देहीमा रहेका बैंक तथा बित्तीय संस्थाले १ खर्ब ४७ अर्ब ८० करोड लगानी गरिसकेका छन् । फागुन मसान्तसम्म रूपन्देहीका बैंकको मात्रै लगानी १ खर्ब ५० अर्ब बढी भएको अनुमान छ ।
यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका अनुसार पुस मसान्तसम्मको तथ्यांकमा १ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ भएको छ । बैंकका सहायक निर्देशक रमेशकुमार न्यौपानेले गतवर्षको तुलनामा चालू वर्षको साउनदेखि पुससम्मको ६ महिनामा मात्रै बैंकहरूको लगानी २८ दशमलब ५ प्रतिशतले बढेको बताए । उद्योग, कृषि र पर्यटन क्षेत्रमा मात्रै ७८ अर्ब ३ करोड लगानी भएको न्यौपानेले जानकारी दिए ।
रूपन्देहीमा सवैभन्दा बढी उद्योग व्यवसाय क्षेत्रमा लगानी भएको छ । यो क्षेत्रमा पुस मसान्तसम्म ५७ अर्ब १७ करोड लगानी भएको छ । गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा ३२ दशमलव २३ प्रतिशतले वृद्धि हो ।
त्यसैगरी जिल्लाको कृषि क्षेत्रमा पनि यहाँका बैंक तथा वित्तीय संस्थाहरूले पुस मसान्तसम्म १४ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका छन् । कृषिमा लगानी गर्ने क्रम बढेको पाइएको छ ।
गत आवको तुलनामा चालू वर्षको पुससम्म कृषि क्षेत्रमा ४२ दशमलव ७३ प्रतिशत लगानी वृद्धि भएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका सहायक निर्देशक न्यौपानेले बताए । न्यौपानेका अनुसार रूपन्देहीका बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा पनि उल्लेख्य लगानी गरेका छन् । बैंकहरूको गएको पुससम्म ६ अर्ब ५९ करोड रुपैयाँ लगानी पुगेको छ । “गत वर्षको तुलनामा यो क्षेत्रमा अहिले ४७ प्रतिशत रकम बढी लगानी भएको छ,” सहायक निर्देशक न्यौपानेले भने । रूपन्देही जिल्लाका बैंक तथा वित्तीय संस्थामार्फत् विभिन्न क्षेत्रमा लगानीका लागि ऋण लिने ऋणीहरूको संख्या पुस मसान्तसम्म ८१ हजार १ सय ३८ नाघेको छ ।
लगानी रकमको तथ्यांक हेर्दा पनि रूपन्देहीमा लगानीको वातावरण बढिरहेको छ । उद्योग व्यवसाय, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी बढ्दै गएको छ । जिल्लामा ठूला सिमेन्ट तथा छड उद्योग, पाँच तारेदेखि पर्यटकीय स्तरका होटल, चप्पल जुत्ता, कार्पेटलगायतका दर्जनौं ठूला उद्योग खुलेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले रूपन्देहीमा लगानीको वातावरण बन्दै गएको बताए । “बैंकहरूको तथ्यांकले पनि लगानी बढीरहेको देखिन्छ, त्यसैले लगानीको वातावरण बनाइरहने हो भने राष्ट्रलाई नै फाईदा पुग्छ,” अध्यक्ष न्यौपानेले भने ।
बचतमा समेत वृद्धि
रूपन्देहीमा बैंकको लगानी मात्र होइन, व्यक्तिको बचतमा समेत वृद्धि भएको छ । रूपन्देहीवासीले बैंकमा गरेको बचत रकम १ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । रूपन्देहीवासीको बैंक तथा वित्तीय संस्थामा १३ लाख ९७ हजार १४ वटा निक्षेप खाता छन् ।
५ सय ३६ बैंक तथा वित्तीय संस्था
काठमाडौं उपत्यकापछि सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था सञ्चालन रहेको क्षेत्रका रूपमा रूपन्देही जिल्ला छ । रूपन्देहीमा माघ मसान्तसम्ममा कुल ५ सय ३६ वटा बैंक तथा वित्तीय संस्थाले कारोबार गरिरहेको नियामक निकाय नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले जनाएको छ । पछिल्लो समयमा वित्तीय पहुँच नपुगेको जिल्लाको दक्षिण क्षेत्र मर्चवारमा समेत बैंक तथा वित्तीय संस्थाको कारोबार सुरू भएपछि जिल्लाका सबै स्थानीय तहमा बाणिज्य बैंक पुगेका छन् ।
रूपन्देहीमा नेपाल राष्ट्र बैंकबाट सूचीकृत क वर्गको बाणिज्य बैंकको संख्या १ सय ४२, ख वर्गको विकास बैंक १ सय १२, ग वर्गको फाइनान्स कम्पनी १४ वटा र घ वर्गका लघुबित्त बित्तीय संस्था २ सय ६८ वटा गरी ५ सय ३६ बैंक तथा बित्तीय संस्था छन् ।
चैत २२ गते कारोबार अनलाइनमा प्रकाशित समाचार ।