बैंकहरूको खराब कर्जा हाल सार्वजनिक तथ्यांकभन्दा दोब्बर रहेको अनुमान छ । हाल बैंकहरूको खराब कर्जाको अंशसम्बन्धी विवरणमा अन्तर्राष्ट्रिय वित्त निगमले समेत प्रश्न गरिरहेको अवस्थामा बैंकहरूले ऋणको ‘इभरग्रिनिङ’मात्र नभै खराब कर्जा गणना गर्ने विधिका कारणले पनि थोरै देखिएको हो ।
बैंकहरूले पछिल्लो कुल कर्जाको अनुपातमा खराब कर्जाको हिस्सा निकाल्ने गरेका छन् । यसले कर्जाको आकार बढेको खण्डमा खराब कर्जाको अंश आफैँ समायोजन हुँदै जान्छ । तर, नेपाल राष्ट्र बैंकका अनुसार पछि खराब कर्जा गणना गर्दा कर्जाको साँवा तथा ब्याज उठ्न छोडेको ९० दिनपछि मात्र खराब कर्जामा सूचीकृत गर्न सकिन्छ । तर, बैंकले प्रवाह गरेको कर्जाको वास्तविक खराब कर्जाका लागि ‘ल्यागिङ’ अर्थात आजको खराब कर्जा र केही वर्ष अघिको कुल कर्जा आधार मानेर गणना गरिन्छ ।
हालको गणना विधिअनुसार कर्जाको आकारले खराब कर्जा स्वतः समायोजन हुने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले बताए । “अहिलेको व्यवस्थालाई बैंकले चाहेर पनि परिवर्तन गर्नसक्ने अवस्था छैन,” उनले भने, “खराब कर्जा कम देखिनुमा अहिलेको गणना विधि पनि हो । त्यसका साथै बैंकहरूको लगानी पनि ठूला परियोजना तथा उद्योगधन्दामा कम भएको हुनाले खराब कर्जा कम भएपनि अहिलेको नै वास्तविक हो की होइन भन्न सकिने अवस्था भने छैन ।” ल्यागिङ पिरियड लिएर खराब कर्जा हर्ने व्यवस्था नभएको समेत उनले बताए ।
नेपाली बैंकहरूको सन्दर्भमा ३ वर्षलाई आधार बनाइ खराब कर्जा गणना गर्दा १.५१ प्रतिशतको दोब्बर ३.२० प्रतिशत खराब कर्जा देखिन्छ । गत पुस मसान्तसम्मको खराब कर्जाको प्रतिशतले सोही अवधिको कुल कर्जालाइ गुणा गरी एक सयले भाग गरेर खराब कर्जा रकममा लिकालिएको छ । सो खराब कर्जाको रकमलाई पुन एक सयले गुणा गरी २०७२ पुसको कुल कर्जाले भाग गरेर ल्यागिङ पिरियडको खराब कर्जा निकालिएको हो । यो माध्यमवाट बैंकहरूको खराब कर्जा रकमका आधारमा पनि करिब ७० अर्ब देखिन्छ । त्यसैगरी २ वर्षको ल्यागिङ पिरियड लिँदा बैंकिङ क्षेत्रको खराब कर्जा १.८८ प्रतिशत रहेको देखिन्छ भने ५ वर्षको अवधिलाई लिँदा ४.४७ प्रतिशत खराब कर्जा देखिन्छ । आधारा मान्दा केन्द्रीय बैंकले ल्यागिङ पिरियड दिएर खराब कर्जा गणना गर्ने गरेको छैन । विगतदेखि प्रचलनमा रहेका अन्तर्राष्ट्रिय अभ्यास भए पनि पछिल्लो समयमा योभन्दा पनि परिष्कृत विधिहरू प्रयोगमा आइसकेका छन् । तर, पछिल्लो समयमा यसभन्दा पनि परिस्कृत विधिहरू प्रयोगमा आइसकेका छन् ।
चालू आर्थिक वर्षको दोस्रो मसान्तसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा कुल कर्जाको १.५१ प्रतिशत रहेको छ । हालको व्यवस्था अनुसार बैंकहरूले प्रवाह गरेको कर्जाको आकारले खराब कर्जाको अंश घटाउने वढाउन भूमिका खेल्दै आएको छ । उच्च खराब कर्जा दर भएको बैंकले पछिल्लो समयमा उच्च आकारको कर्जा प्रवाह गरेको खण्डमा खराब कर्जाको प्रतिशत घट्न जान्छ । तर, खराब कर्जा थारै हुनुको कारण कर्जाको इभरग्रिनिङसँगै हालको गणना विधि पनि मुख्य रहेको बैंकरहरू बताउँछन् ।
गत पुस मसान्तसम्ममा २८ वाणिज्य बैंकहरूले २३ खर्ब ६४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा बैंकहरूको खराब कर्जा ३५ अर्ब ९८ करोड रुपैयाँमात्र छ । २०७२ पुस मसान्तसम्ममा ११ खर्ब ६९ अर्ब ५४ करोड रुपैयाँँ कुल कर्जामा ३७ अर्ब ४५ करोड अर्थात ३.२० प्रतिशत खराब कर्जा थियो । २०७२ पुसको तुलनामा २०७५ पुसमा बैंकहरूको कर्जा प्रवाह ८ प्रतिशतले बढिसकेको छ ।
बैंकहरूले आक्रामक रूपमा कर्जा विस्तार गर्दा पनि खराब कर्जा भने झनै घट्नु आश्चर्यजनक रहेको एक बैंकरले बताए । “हाल रहेको बैंकहरूको खराब कर्जा वास्तविक हो की हैन भन्नेमा शंका नै छ,” ती बैंकरले भने, “बैंकिङ क्षेत्रले लगानी गरेअनुसार करिब ३ प्रतिशतसम्म खराब कर्जा हुनुपर्ने देखिन्छ । तर, यो पनि बैंकहरूको पूर्वाधार क्षेत्रमा लगानी नभएको हुनाले थोरै नै हो ।” पछिल्लो समयमा बैंकहरूले पूर्वाधार क्षेत्रमा लगानी सुरु गरेको हुनाले आगामी दिनमा खराब कर्जा बढ्नसक्ने उनको विश्लेषण रहेको छ । बैंकहरूले कर्जालाई इभरग्रिनिङ गरेर मात्र नभइ पछिल्लो समयमा बढेको कर्जाले खराब कर्जा घटेको जस्तो मात्र देखिएको उनको भनाइ छ । आजभन्दा तीन वर्षअघि रहेको खराब कर्जाभन्दा आज थोरै देखिएकाले पनि झनै शंका पैदा गरेको उनी बताउँछन् ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार कर्जाको सावा ब्याज नउठेको ३ वर्षको अवधि दिइ गणना गर्ने गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । केन्द्रीय बैंकका ति अधिकारी भन्छन्, “ल्यागिङ पिरियड दिएर गणना गर्नका लागि तथ्यांक पनि छैन ।” पछिल्लो समयमा एनएफआरएस लागू भएकाले आगामी दिनमा ल्यागिङ पिरियड दिएरमात्र नभै त्यो भन्दा अझै परिष्कृत विधिलाई समेत अभ्यासमा ल्याउन सकिने उनले बताए । पश्चिमा देशहरूले प्रयोग गरेको आधुनिक विधिलाई समेत अँगाल्न सकिने उनी बताउँछन् । अहिलेको खराब कर्जा गणना गर्दा कर्जाको आकारले खराब कर्जाको आकार धेरै थोरै हुने अवस्था रहेको समेत ति अधिकारीले जानकारी दिए । “अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालको खराब कर्जा गणना विधि पुरानो भएको छ,” केन्द्रीय बैंकका ती अधिकारीले भने, “भारतमा जस्तो तीन वर्षको अवधि दिएर हामीले गणना गर्दैनौं, त्यसैले भारतको भन्दा हाम्रो खराब कर्जा थोरै छ ।” भारतको तुलनामा नेपाली बैंकहरूको खराब कर्जा कम हुनुमा पूर्वाधार क्षेत्रमा बैंकहरूको लगानी नभएर पनि भएको उनको भनाइ छ । कारोबारमा प्रकाशित समाचार ।