Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

खाद्यान्न आयात २० प्रतिशतले बढ्यो

२०७५ चैत्र २२ गते

सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न आयात भने बर्सेनि बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेपनि आयात भने रोकिन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्नको आयात बढ्दै गएको देखिन्छ । अधिकांश खाद्यान्नको आयात छिमेकी मुलुक भारतबाट हुने गर्छ । आयात बढ्दै गए पनि निर्यात भने न्यून छ । पछिल्लो सात महिनामा ३२ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । 

स्थानीय उत्पादनले माग धान्न नसकेपछि सात महिनामा सो रकम बराबरको चामल, मकै, गहुँ र कोदो लगायतका खाद्यान्नको आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २२ लाख ४४ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । यस अवधिमा २० अर्ब ५५ करोड रुपैयाँको चामल आयात भएको केन्द्रको तथ्यांकले देखाएको छ । यस्तै, ७ अर्ब ७२ करोड रुपैयाँको मकै र २६ करोडको कोदो आयात भएको छ ।

केन्द्रले गरेको अध्ययनका क्रममा सुदूरपश्चिम प्रदेशमा जनसंख्याको अनुपातमा चामल उत्पादन धेरै हुने गरेको छ । कुन प्रदेशमा खाद्यान्नको उत्पादन कति हुन्छ भनेर केन्द्रले अध्ययन गरिरहेको छ । प्रदेशसँग आन्तरिक व्यापार गर्नका लागि कुन प्रदेशमा केको उत्पादन बढी हुन्छ भनेर अध्ययन भइरहेको केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए ।

नेपालबाट भारतीय व्यापारीले धान लैजाने गर्छन् । नेपालमा सस्तो मूल्यमा धान निर्यात हुने र पछि महँगोमा चामल आयात हुने गरेको छ । खुला सीमानाको कारण व्यापारीले किसानबाट सस्तो मूल्यमा धान खरिद गरी बाहिर लैजाने गर्छन् । त्यसलाई पुन चामलका रूपमा व्यापारीले नेपाल भिœयाउने गर्छ । 

पछिल्लो समय मुलुकमा खेती गर्ने जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएकाले मागअनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो रकम बराबरको खाद्यान्न नेपालमा आयात हुने गरेको छ । कृषि विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन बढेर ५२ लाख टन पुगे पनि खाद्यान्न आयात भने रोकिन सकेको छैन । 

व्यापारविज्ञ पुरुषोत्तम ओझा स्थानीयस्तरमा उत्पादन बढाउन नसक्दा ठूलो रकमको खाद्यान्न आयात गर्नु परेको बताउँछन् । कृषि उत्पादन कम हुनु, कृषि पेशामा आकर्षण घट्दै जानु र काम गर्ने जनशक्ति रोजगारीका लागि खाडी मुलुकमा गएकाले उत्पादन घट्दा खाद्यान्नको आयात बढ्दै गएको उनको भनाइ छ । खाद्यान्नको आयात घटाउनका लागि स्थानीयस्तरमा उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । “स्वदेशी वस्तु निर्यातमा विभिन्न अवरोध हुने गर्छ, बाहिरबाट आउने वस्तु सहज ढंगले भित्रिने गरेकाले आयातदर बढ्दै गएको छ,” उनले भने ।

मुलुकमा अधिकांश वस्तु तथा सेवाको आयातदर बढ्दै गए पनि निर्यात भने बढ्न सकेको छैन । स्वदेशी वस्तुको लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढ्न नसकेको हो ।

कारोबारमा प्रकाशित समाचार ।

Ad