२०७३ जेष्ठ २५ गते

१८० वर्ष पूरानो अमेरिकी रेटिङ कम्पनि यसरी छिर्दैछ नेपाल 

ratingअमेरिकी रेटिङ कम्पनी डम एन्ड ब्रान्डस्ट्रिट(डीएन्डबी)को सहायक कम्पनीको रूपमा स्थापना हुन लागेको दि नेपाल रेटिङ एजेन्सीले सञ्चालनको सैद्धान्तिक अनुमतिपत्र (एलओआई) पाएलगत्तै रेटिङ मोडल बनाउने भएको छ । कर्पोरेट संस्था तथा व्यक्तिको रेटिङ गर्ने गरी सञ्चालनमा आउन लागेको यो एजेन्सीले असारको दोस्रो सातामा सैद्धान्तिक अनुमतिपत्र पाउने र दसैंअघि नै काम सुरु गर्ने योजना बनाएको बताइएको छ । डीएन्डबीले अमेरिकालगायत विश्वभर २ सय देशमा क्रेडिट रेटिङ, क्रेडिट स्कोरिङ, व्यक्ति तथा संस्थाको शाख मूल्यांकनको काम गर्दै आएको छ । १ सय ८० वर्ष पुरानो उक्त कम्पनीले नेपाल पनि उपस्थिति जनाउने तयारी गरेको हो । 

रेटिङ एजेन्सीले कम्पनीहरूको शाख मूल्यांकन गरी लगानीकर्ता तथा सर्वसाधारणलाई जानकारी दिने काम गर्छ । जसले गर्दा व्यापार व्यवसायमा हुन सक्ने जोखिमको निर्धारण गर्न सहज हुन्छ । रेटिङ संस्थाले निष्काशनकर्ता कम्पनीको समग्र वित्तीय स्थिति, कार्य सम्पादन तथा सुशासनको अवस्था आदिलाई आधार मानी मूल्यांकन गरी सरल रूपले बुझ्न सकिने गरी विवरण प्रस्तुत गर्छ । हाल सञ्चालनमा रहेको रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक सेयर निष्काशन, डिबेञ्चर तथा हकप्रद सेयर निष्काशनको रेटिङ गर्दै आएको छ ।