Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लगानी सम्मेलनमा निजीक्षेत्र : सिमेन्ट उद्योगदेखि केबलकारसम्म सूचीमा

२०७५ चैत्र १३ गते

काठमाडौं । चैत १५ र १६ मा काठमाडौंमा हुन लागेको लगानी सम्मेलनका लागि निजीक्षेत्रले २७ ओटा आयोजना तयार पारेको छ । निजीक्षेत्रले अध्ययन गरी तयार पारेका परियोजनाको सूचीमा सिमेन्ट उद्योगदेखि केबलकारसम्म छन् । विशाल सिमेन्ट, गरुड सिमेन्ट, आईएमई सिमेन्टजस्ता परियोजना निजीक्षेत्रको सूचीमा छन् । यस्तै, जलविद्युत् क्षेत्रमा त्रिशुली गल्छी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, कालीगण्डकी गर्ज, लोअर बरुणखोला, मिडिल कालीगण्डकी, म्यादीखोला हाइड्रोपावर, नाम्लान खोला लगायत परियोजना छन् । पूर्वाधारतर्फ जाल्पादेवी केबलकार, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबलकार, रिसोर्स हिमालयन रिसोर्ट, अन्नपूर्ण केबलकार, हायात प्लेस काठमाडौंजस्ता परियोजना पनि निजीक्षेत्रको सूचीमा छन् । यी परियोजनालाई ‘शोकेश’ का रूपमा प्रस्तुत गरिने लगानी बोर्डले जानकारी दिएको छ ।

उद्योगीहरूको प्रस्तुति 
लगानी सम्मेलनमा प्रस्तुतिका लागि सरकारले उद्योगीहरूलाई पनि आमन्त्रण गरेको छ ।

नेपालमा लगानीको अवसरका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले प्रस्तुति दिनेछन् । इप्पान अध्यक्ष एवं ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधान, उद्योगतर्फ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, एनआरएनका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोलाई डाकिएको छ । चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरी, एनआरएन अध्यक्ष भवन भट्टले समेत आफ्नो अनुभव प्रस्तुत गर्ने कार्यक्रम छ ।

बंगलादेशको निजीक्षेत्र पनि सहभागी हुँदै
काठमाडौं (अस) । आसन्न लगानी सम्मेलनमा बंगलादेशको निजीक्षेत्र पनि सहभागी हुने भएको छ । मंगलवार नेपालका लागि बंगलादेशकी राजदूत मास्फी विन्ते साम्सले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिएकी हुन् ।

राजदूत साम्सले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेश सरकार इच्छुक रहेको बताइन् । बंगलादेशले यसअघि नै सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विद्युत् खरीद गर्ने घोषणा गरिसकेको छ । द्विपक्षीय ऊर्जा सहकार्यका लागि गएको मङ्सिर १८ मा नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय पहिलो बैठक भएको थियो ।

सोही बैठकले नेपालमा लगानीयोग्य जलविद्युत् आयोजनाहरूको पहिचान र विद्युत् व्यापार तथा अन्तरदेशीय प्रसारण लाइनको सम्भावनाबारे अध्ययन गर्न दुवै मुलुकका ३/३ सदस्यीय दुई अलग प्राविधिक टोली गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेपालतर्फ टोली गठन भइसकेको मन्त्रालयले जानकारी दिएको छ । ‘टोलीमा विद्युत् विकास विभाग, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि समावेश छन्,’ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले आर्थिक अभियानसँग भने ।

भारतको भूमि प्रयोग गरी नेपालको विद्युत् लैजाने बंगलादेशको योजना छ । उक्त योजना सफल बनाउन नेपाल–भारत र भारत–बंगलादेशबीचमा हुने बैठकहरूमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न प्राथमिकताका साथ पहल गर्ने निर्णयसमेत बैठकले गरेको थियो । सोही आधारमा नेपालले गएको माघ १० मा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल–बंगलादेश विद्युत् प्रसारणका लागि भारतको प्रतिक्रिया मागेको थियो । त्यसमा सकारात्मक रूपमा प्रस्तुत भएको भारतीय पक्षले तीनओटै देशको संयुक्त बैठक बसी छलफल गर्न सकिने उपाय सुझाएको थियो ।

मन्त्री पुन र राजदूत साम्सबीच भएको मंगलवारको भेटमा यसअघि दुई देशबीच भएका सहमति र सहकार्यबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । अभियानमा प्रकाशित समाचार ।

Ad