बैंक अध्यक्ष र सञ्चालकहरु हावी भएको संशोधित विधेयक पूर्ण सदनले विधेयक जस्ताको त्यस्तै पारित गरेमा वित्तीय जोखिम पहिलेभन्दा अझ बढेर जाने पूर्वगभर्नर दीपेन्द्रवहादुर क्षेत्री र विधेयक मस्यौदा गरेका राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भास्करमणि ज्ञवालीले बताएका छन् । संशोधित विधेयक पारित भएपछि वित्तीय क्षेत्रमा कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा केन्द्रित रहेर नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार सम्पन्न गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
बैंक अध्यक्ष तथा सञ्चालकहरु सदस्य रहेको अर्थ समितिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक अर्थसमितिबाट पूर्णसदनमा पुगेको ११ दिन बितिसकेको छ । विगतका अनुभवबाट सिकेर वित्तीय सुशासन कायम गर्न सजिलो हुने गरी मौद्रिक अधिकारीहरुले तयार पारेको मस्यौदालाई अर्थसमितिअन्तर्गत गठन भएको उपसमितिका बैंकर सांसदहरुले आफू अनुकुल बनाएर संसद पुर्याएका थिए ।
कार्यक्रममा उपसमितिका संयोजक दिपक कुइकेलले आफ्ना कारणले नभइ अरुका कारणले संशोधनसहितको विधेयक पारित गर्न वाध्य हुनु परेको’ बताए । उनले उपसमितिमा रहेका अधिकांस सांसद बैंकर रहेकाले विधेयक उनीहरुले भनेजस्तै संशोधन गरेर पारित गर्नु परेको जिकिर गरे । संशोधनमा समितिका सदस्यहरुसँगै नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको समेत सहमति रहेको उनले बताए ।