बैंकिङ खबर। स्याङ्जाको वालिङमा केन्द्रिय कार्यालय रहेको कालिका लघुवित्तले मृतक कर्मचारीको परिवारलाई सात लाख रुपैयाँ सहयोग गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका ६ स्थायी बसोबास भई लघुवित्तकोे रुपन्देही जिल्लाको जोगीकुटी शाखाको शाखा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमति ज्ञानकुमारी राईलाई लघुवित्तका अध्यक्ष कृष्ण खाँणले सात लाखको चेक हस्तान्तरण गरेका हुन् । संस्थामा कार्यरत कर्मचारीलाई आपत विपत तथा दुर्घटनामा परी ज्यान गुमाएर आर्थिक सहयोग गरेको यो पहिलो पटक भएको लघुवित्तले जनाएको छ ।
जोगीकुटी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रहेको दुई महिनामै राईको घरबाट कार्यालय आउने क्रममा पूर्व पश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको थियो । लघुवित्तका अध्यक्ष खाँणले भने, “संस्थाले एक ईमान्दार र कर्तब्य निष्ठ कर्मचारी गुमाउँदा हामीलाई क्षति पुगेको छ भने घर परिवारलाई झनै ठुलो क्षति अनि पीडा थपिएकोले राहत स्वरुप घर परिवारलाई आर्थिक सहयोग गरेका हौं“ ।
मृतक राईको परिवारलाई यस अघि पनि लघुवित्तमा कार्यरत कर्मचारीहरुले आर्थिक संकलन गरी एक लाख ७५ हजार सहयोग प्रदान गरिएको र मृतककी श्रीमति ज्ञानकुमारी राईलाई लघुवित्तकै चितवनको भण्डारा शाखामा कर्मचारीका रुपमा नियुक्ती गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मीन बोहोराले जानकारी दिए । लघुवित्तले राहत स्वरुप ठुलो रकम सहयोग गरेकोमा आभार व्यक्त गर्दै उक्त रकमले आफ्नो साढे ४ वर्षिय छोराको शिक्षा दिक्षामा खर्च गर्ने योजना बनाएको मृतककी श्रीमति ज्ञानकुमारी राईले बताइन् ।
२०६७ भदौमा स्याङ्जाको वालिङमा स्थापना भएको कालिका लघुवित्तको हाल २५ जिल्लामा ७० वटा शाखा रहेका छन् भने ३५ हजार सदस्यले सेवा लिइरहेका छन् । एक अर्ब ७० करोड लगानी रहेको लघुवित्तले ६५ करोड निक्षेप संकलन रहेको छ । ३१५ जना कर्मचारी कार्यरत रहेको लघुवित्तमा महिला कर्मचारी २०१ र पुरुष कर्मचारी ११४ जना रहेका प्रमुख कार्यकारी अधिकृत बोहोराले बताए ।