२०७५ चैत्र ५ गते

डलरमा हुने उतारचढावले अर्थतन्त्र प्रभावित हुनसक्छ, यस्ता छन् फाइदा बेफाइदा

बैंकिङ खबर । नेपालमा डलरमा हुने उतारचढाव भारतीय रुपैयाँसँग भरपर्दछ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर हुने भएकाले भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ अवमूल्यन हुन्छ । भारतीय रुपैयाँ बलियो बन्यो भने नेपाली रुपैयाँको क्रयशक्ति पनि बढछ । यसको असर नेपाली अर्थतन्त्रमा समेत पर्छ । नेपालमा खासगरी आयात–निर्यात, रेमिट्यान्स, पर्यटन क्षेत्र, सरकारी ऋण, विदेशमा पढ्न जाने, घुम्न जानेहरुलाई डलरमा हुने परिवर्तनले असर पारेको हुन्छ ।
त्यस्तो असरका फाइदा र बेफाइदा दुवै हुन सक्छ । 

डलरको भाउमा वृद्धि हुँदाका फाइदा 
निर्यात बढन सक्छ 

नेपाली रुपैयाँको भाउ सस्तो हुँदा निर्यात हुने सामानको भाउ अन्तराष्ट्रिय आयातकर्ताकाले लागि सस्तो पर्न जान्छ । एक डलरले पहिला भन्दा बढि खरिद गर्न सक्छन् । जसले गर्दा नेपाली समानमा आयातकर्ताहरुको आकर्षण बढन सक्छ र यसले निर्यातलाएै टेवा पु-याउँछ । तर नेपालबाट निर्यात हुने वस्तु न्यून हुँदा यसबाट हुने फाइदा बेफाइदा पनि स्वभाविक रुपमा सिमित हुन्छ । 

पर्यटन क्षेत्रबाट हुने आम्दानी बढछ 
नेपालमा विदेशी मुद्रा आम्दानी गर्ने एउटा प्रमुख स्रोत पर्यटन क्षेत्र पनि हो । त्यसैले विदेशी मुद्राको भाउ बढ्दा यसले पर्यटन मार्फत हुने आम्दानी बढाइदिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई खर्चको हिसाबले कम पर्न जान्छ । पर्यटकको खर्च गर्ने क्षमतामा बृद्धि हुन्छ । 

बैदेशिक लगानी बढन सक्छ 
लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ । 

रेमिट्यान्समा बृद्धि हुन्छ 
लाखौँ नेपालीहरू विदेशमा काम गर्छन् । कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढदा नेपाल बढि पैसा पठाउन सक्छन् । यसले डलरको परिमाण बढन सक्छ । जसले शोधानान्तर घाटा कम गर्न सघाउ पु¥याउन सक्छ । 

विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ। पछिल्लो दश महिनाको आँकडामा विप्रेषण आय छ खर्ब रुपैयाँ नाघेको देखिन्छ। जबकि रोजगारका लागि जाने कामदारको सङ्ख्या केही घटेको छ। 

डलरको भाउमा वृद्धि हुँदाका बेफाइदा
आयात बढदा शोधानान्तरमा समेत प्रभाव पार्छ

गत वर्ष नेपालले ११ खर्ब भन्दा बढि अयात र करिब १ खर्बको निर्यात गरेको थियो । चालु वर्षको छ महिनामा पनि आयात उच्च छ । डलरमा भएको बृद्धिले समेत आयातमा भएको भुक्तानी रकम बढेको छ । डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ । जसले गर्दा व्यापार घाटा निकै उच्च छ । जसको नराम्रो असर शोधानान्तरमा पर्छ । विदेशी मुद्राको सञ्चितिपनि घट्छ । 

शोधानान्तर घाटा बढन सक्छ 
आयातमुखि व्यापार भएकाले नेपालबाट वार्षिक अर्बौ डलर बाहिरिन सक्छ । जसले शोधानान्तर स्थीतिमा सिधा असर पर्छ । रेमिट्यान्स, पर्यटन र निर्यातबाट भित्रने डलर भन्दा वस्तु आयातबाट बाहिरिने डलर बढि हुन जान्छ जसले गर्दा नेपालको शोधानान्तर स्थीति घाटामा जान सघाउ पु¥याउँछ ।

महँगी बढ्न जान्छ 
डलरको भाउ बढ्ने बित्तिकै विदेशबाट आयात हुने सामाग्रीहरु नेपाली बजारमा महँगो पर्न जान्छ । आयातमा निर्भर व्यापार भएकाले नेपालका निम्ति ठुलो बेफाइदा हुन्छ । नेपालमै उत्पादीत अधिकांस वस्तुहरुको कच्चा पदार्थ समेत विदेशबाट आयात गर्नुपर्ने भएकाले डलरमा भएको बृद्धि नेपालका लागि महँगो हुन जान्छ । इन्धनको मूल्य समेत निकै बढन सक्छ । 

बैदेशीक ऋणमा भार पर्न जान्छ 
सरकारले विदेशी मुद्रामा विभिन्न लगानी भित्र्याएको हुन्छ । त्यस्तो लगानी ऋणमार्फत समेत हुन सक्छ । त्यसैले नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्न जान्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ। यसले सरकारको बजेटमा नै असर पु¥याउँछ । सरकारी खर्च बढ्न जान्छ ।

विद्यार्थी शुल्क बापत बाहिरिने मुद्रा बढछ 
नेपलबाट विभिन्न मुलुकमा हजारौं विद्यार्थी पढन गएका छन् । उनीहरुले विदेशी मुद्रामा पैसा तिर्नुपर्छ । डलरको भाउ बढ्दा उनिहरुको परिवारमा आर्थिकभार बढ्न जान्छ । नेपालबाट विद्यार्थी शुल्कबापत करिब ५० अर्ब रुपैयाँ विदेशिने गर्छ । 

निश्कर्ष 
नेपालको अर्थतन्त्रको प्रकृति अनुसार डलरको भाउ बढदा फाइदा भन्दा बेफाइदा बढि नै हुन्छ । नेपालीले उपभोग गर्ने अधिकांश वस्तु आयात गर्नुपर्ने हुन्छ । जसले गर्दा डलरको भाउ बढदा आयात गर्ने वस्तुमा बढि नेपाली रुपैयाँ खर्च हुन जान्छ । तेल, सुन, सवारी साधन लगायत अनिवार्य आयात गर्नुपर्ने वस्तुहरुमा मात्रै खबैं रुपैयाँ बाहिरिन्छ । त्यसैले डलरको भाउमा बृद्धि हुँदा नेपाली अर्थतन्त्रमा सिधा असर पारेको हुन्छ । 

डलरको भाउमा वृद्धिहुँदा भन्दा डलरको भाउमा गिरावट आउँदाका फाइदा बढी हुन्छन् । किन भने हामी निर्यात भन्दा बढी आयात गरेका हुन्छौं । यसले गर्दा विदेशमा जाने भुक्तानी कम हुन जान्छ । त्यस्तै रेमिट्यान्स कम आएपनि नेपाली मुद्राको क्रयशक्ति बढने भएकाले खासै असर पार्दैन् । तर नेपालमा विदेशीमुद्राको संचिति घटन सक्छ यसको असर सोधानान्तर स्थितिमा पर्न सक्छ । पर्यटन क्षेत्रमा आम्दानी कम हुन जान्छ भने विदेश भ्रमणमा जाने र वैदेशिक अध्ययनमा जानेहरुले गर्ने भुक्तानी कम हुन्छ । त्यसैले डलरको भाउ घट्दा नेपालमा बेफाइदा भन्दा बढी फाइदा नै हुन्छ ।