March 18th, 2019

प्राधिकरणले अढाई अर्ब बक्यौता उठाउन बाँकी

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलहरूमा व्यापारिक प्रयोजनका लागि विभिन्न संघ संस्थालाई दिएको भाडाबापत झण्डै अढाई अर्ब रुपैयाँ बराबरको बक्यौता रकम उठाउन बाँकी रहेको देखिएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक लेखा समितिलाई दिएको विवरणअनुसार व्यापारिक प्रयोजनका लागि विभिन्न संघ संस्थालाई दिइएको भाडावापत चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ४७ करोड ९३ लाख २७ हजार ७ सय ३९ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको हो । बक्यौता रकम नबुझाउनेमा ५५ वटा चालू अवस्थामा रहेका अन्तर्राष्ट्रिय विमान कम्पनी छन् भने १८ वटा सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमान कम्पनी छन् । यस्तै, चालू अवस्थामा रहेका १८ वटा आन्तरिक उडान भर्ने विमान कम्पनी र १२ वटा सेवा बन्द भएका आन्तरिक उडान भर्ने विमान कम्पनी पनि छन् ।

सबैभन्दा धेरै बक्यौता रकम नतिर्नेमा नेपाल वायुसेवा निगम, एयर एसिया र हिमालयन एयरलाइन्स रहेका छन् । यी कम्पनीले प्राधिकरणलाई क्रमशः ३४ करोड ९ लाख, १४ करोड ८० लाख र ११ करोड ४८ लाख रुपैयाँ तिर्न बाँकी छ । एयर एसियाले हाल नेपालबाट सेवा बन्द गरिसकेको छ । सम्झौता अवधि सकिए पनि यस्ता व्यापारिक संघ संस्थाले अदालतबाट स्टे अर्डर लिँदै व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । प्राधिकरणले तीन वर्षमा टेन्डरमार्फत् विमानस्थलभित्र व्यवसाय गर्न दिने गरेको भए पनि अदालतमा मुद्दा बिचाराधीन रहेको कारणले गर्दा अहिलेको दररेटमा भाडा लगाउन समस्या भएको विमानस्थलका महाप्रबन्धक राजकुमार श्रेत्रीले बताए । उनले धेरै बक्यौता हुने विमान कम्पनीहरूले तीन महिनाभित्र रकम भुक्तानी नगरे विमान ग्राउन्डेड गर्ने तयारी गरेको पनि बताए ।

समितिका सदस्यहरू निजी कम्पनीहरूको यती धेरै बक्यौता हुनु लाजमर्दो भएको भन्दै आक्रोशित भएका छन् । उनीहरूले २०६३ सालमा भएको ठेक्का २०७५ सालसम्म आउँदा पनि एउटै दररेटमा एउटै व्यक्तिले अदालतलाई देखाएर सिन्डिकेट खडा गर्न खोजेको पनि बताएका छन् । उनीहरूले कर्मचारी र व्यवसायीबीच मिलेमतोमा विमानस्थलका व्यवसायीहरूले मन्त्री र सचिवलाई चन्दा दिने गरेको आरोप पनि लगाए ।

समितिले विमानस्थलहरूमा व्यापारिक प्रयोजनका लागि विभिन्न संघ संस्थालाई दिएको भाडा बापतको वक्यौताको विवरण उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिएको छ । समितिका अनुसार आन्तरिकतर्फ हाल बन्द रहेका १२ वटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बक्यौता चुक्ता नगरी सम्पर्कबाहिर छन् ।

हाल सञ्चालनमा नरहेका र उडान अनुमतिसमेत खारेज भएका आन्तरिकतर्फ उडान भर्ने १२ एयरलाइन्स कम्पनीले विमानस्थल कार्यालयलाई ‘विमानस्थल सेवा शुल्क’ वापतको ८ करोड ४७ लाख ४ हजार रुपैयाँभन्दा बढी रकम तिरेका छैनन् । बन्द रहेकामध्ये कस्मिक र नेकोन एयरको मात्रै ८ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

यस्तै, एयर काष्ठमण्डपको ३ लाख २९ हजार, एयर नेपालको ७८ हजार ९ सय, अल्पाइन एयरको ७२ हजार ७ सय, गरुड एयरको २७ हजार ४ सय, कर्णाली एयरको १६ लाख ६४ हजार, मुक्ति एयरलाइन्सको २६ हजार, नेपाल एयरवेजको ११ लाख ७९ हजार, सांग्रिला एयरको २ लाख ३७ हजार र स्काई एयरवेजको ७ लाख ३३ हजार रुपैयाँभन्दा बढी बक्यौता बाँकी रहेको विमानस्थल कार्यालयले समितिलाई जानकारी गराएको छ । कारोबारमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]