Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

साउदी अरबले पहिलोपटक ऋणपत्र विक्रि गर्ने

२०७३ जेष्ठ २२ गते

saudiसाउदी अरबले पहिलोपटक नगद बढाउन ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्र खरिदको माध्यमबाट साउदी अरेबियाले झन्डै १५ अर्ब डलर उठाउने योजना बनाएको हो । तेलको मूल्यमा आएको गिरावटका कारण प्रभावित साउदी अरबले आगामी केही महिनाको अवधिभित्र बिक्री सुरु हुने त्यहाँका अर्थ मन्त्रालयका पूर्वअधिकारी जोन फाकियानाकिसले बताएका छन् । 

ऋणपत्र बिक्रीलाई सम्पत्तिको क्षेत्र रूपान्तरण गर्ने संकेतका रूपमा हेरिएको छ । पाँच वर्षअघिसम्म तेल समृद्ध मुलुक साउदीलाई यस्तो संकटको अवस्था आउनेसम्म पनि सोचिएको थिएन । तर, तेलको मूल्यमा आएको गिरावटले विशाल बजेट बचतमा समस्या पारेको छ । आफ्नो आम्दानीको तीन चौथाइ तेलमा निर्भर रहँदै आएको साउदी सन् २०१५ मा १ सय अर्ब डलर बजेट घाटामा गएको थियो । उक्त वर्ष तेल आम्दानी २३ प्रतिशतले घटेको थियो । साउदीसँग अझै ६ सय अर्बको विदेशी विनिमय सञ्चिति छ । अन्तरराष्ट्रिय मुद्राकोषले साउदी नगद अभावको अवस्थामा पुग्ने चेतावनी दिइसकेको छ ।

फाकियानाकिसका अनुसार साउदी १५ अर्ब डलर सहजै उठाउन सक्षम हुनेछ । यो महिनाको सुरुमा साउदीको एकतिहाइ मात्रै भाग रहेको ओपेक मुलुक कतारले ऋणपत्र खरिदबाट ९ अर्ब डलर उठाएको थियो । पछिल्लो समय तेलको मूल्यमा आएको सुधारले पनि साउदीलाई सहयोग पुगेको छ । मध्य फेबु्रअरीमा प्रतिब्यारेल २६ डलर पुगेको कच्चा तेलको मूल्य गत साता झन्डै दोब्बर भएर ५० डलर माथि पुगेको थियो ।