Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मार्जिन कारोबार सुविधा र प्रक्रिया

२०७५ फाल्गुन १७ गते

काठमाडौं । धितोपत्र बजारमा लगानी गर्ने रकमको अभाव भइरहेको गुनासो लगानीकर्ताबाट आइरहँदा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले धितोपत्रमा लगानी गर्न ऋण उपलब्ध गराउने भएका छन् । ब्रोकरहरूले मार्जिन कारोबार सुविधामार्फत लगानीकर्ताहरूलाई उक्त ऋण उपलब्ध गराउने भएका हुन् । यो सुविधा कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य ब्रोकरहरूसँग आवेदन माग गरेको छ । हाल सञ्चालनमा रहेका ५० ब्रोकरहरूमध्ये आधाभन्दा बढीले मार्जिन कारोबारका लागि योग्य रहेको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने सम्बन्धमा बोर्डले गत कात्तिकमै मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो । मार्जिन कारोबार उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जारी गरिएको निर्देशिकाबमोजिम कार्यविधि बनाई नेप्सेले गत जेठमै बोर्डको स्वीकृति लिएको थियो । हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उद्देश्य भए पनि उनीहरूको स्वेच्छाले यो सेवा प्रदान गर्न सकिने नेप्सेको भनाइ छ । बोर्डले ब्रोकर र लगानीकर्ताको समझदारीमा मार्जिन कारोबारका लागि ब्याजदर निर्धारण गर्न निर्देशन दिएको छ ।

के हो मार्जिन कारोबार सुविधा ?
धितोपत्र खरीद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबारसम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ । यो सुविधाका लागि लगानीकर्ताले ५० प्रतिशत रकम आफूले लगानी गर्नुपर्नेछ र बाँकी ५० प्रतिशतसम्म ब्रोकरले हालिदिनेछन् । मानौं, मसँग ५ लाख रुपैयाँ छ र मलाई १० लाखको शेयर खरीद गर्नुप¥यो भने बाँकी रकम मार्जिन सुविधाबाट ब्रोकर कम्पनीले कर्जाको रूपमा उपलब्ध गराउनेछ । यो सुविधा उपलब्ध गराउँदा ब्रोकर कम्पनीले सो सम्बन्धमा ग्राहकसँग सम्झौता गर्नुपर्नेछ । सम्झौतामा प्रारम्भिक मार्जिन कति हुने, सम्भार मार्जिन दर कति हुने, मार्जिन कल कसरी गर्ने, सेवा शुल्क वा ब्याज कति हुने, कुन कुन शेयर खरीद गर्ने हो सोको विवरणसहित आवश्यकता अनुसार अन्य शर्त समेटिएको हुन्छ ।

यो सुविधा उपलब्ध गराएबापत कम्पनीले केही रकम ब्याज तथा अन्य शुल्कको रूपमा लिन सक्नेछ भने यसरी शेयर किनेपछि हुन सक्ने लाभ र हानि दुवैको पूर्ण जिम्मेवार भने मार्जिन सुविधा लिने लगानीकर्ता आफै हुन्छ । खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुने ब्रोकर कम्पनीले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउँछन् ।

मार्जिन कर्जामा पहिले आफ्नो पैसाले धितोपत्र खरीद गरेपछि त्यसको प्रमाणपत्र धितोको रूपमा बैंकमा प्रस्तुत गर्नुपर्छ र त्यस धितोको आधारमा बैंकले केही प्रतिशत कर्जा दिन्छ । ब्रोकरमार्फत लिइने मार्जिन कारोबार सुविधामा भने आफूसँग भएको रकम ब्रोकरलाई दिइन्छ र ब्रोकरले त्यसमा थपेर धितोपत्र खरीद गरिदिन्छ अनि त्यो सबै धितोपत्रका प्रमाणपत्र आफूसँगै धितोका रूपमा राख्छ । ब्रोकर कम्पनीले धितोपत्र बजारमा पछिल्लो कम्पनीको शेयरको १ सय ८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशत हुन आउने रकम ग्राहकसँग शुरू मार्जिनको रूपमा लिनुपर्ने व्यवस्था मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधिमा उल्लेख छ । बजारको अवस्था तथा जोखिमलाई हेरी ब्रोकरहरूले लगानीकर्ताहरूबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्नेछ । शुरूको मार्जिन रकम ५० प्रतिशत हुने व्यवस्था भए पनि थोरै मात्र शेयरमूल्य घटेमा ब्रोकरले मार्जिन रकम थप्न नलगाउन सक्छ । तर, शेयरमूल्य धेरै घट्यो भने उसले थप मार्जिन माग्नै पर्ने नियम छ । यस्तो मार्जिनलाई मेन्टेनेन्स मार्जिन अर्थात् सम्भार मार्जिन भनिन्छ । सम्भार मार्जिन ४० प्रतिशतभन्दा बढी हुन नपाउने नियम छ ।

लगानीकर्ताले आवश्यक पर्ने मार्जिन भुक्तान गर्न नसकेमा वा अस्वीकार गरेमा र सम्पर्कमा नआएमा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा अन्तर्र्गत खरीद गरेको शेयरविक्री गर्न सक्नेछन् । मार्जिन सुविधा प्रदान गर्न आवश्यक रकम ब्रोकर कम्पनीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग कर्जा लिएर प्रदान गर्न सक्नेछन् । ब्रोकर कम्पनीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । कुनै एक ग्राहक तथा निजको एकै घरका सदस्यलाई आफ्नो नेटवर्थको १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने छैन ।

मार्जिन कारोबार प्रक्रिया 
ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारका लागि कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । ब्रोकरले पहिले लगानीकर्ताको क्षमतालाई अध्ययन गरेर मात्रै मार्जिन कर्जा उपलब्ध गराउनेछ । कर्जा लिन चाहने लगानीकर्ता सन्तुष्ट छ कि छैन, उसलाई कर्जा दिनु उपयुक्त छ कि छैन, भन्ने विषयमा अध्ययन गरेर उचित लागेपछि मात्रै ब्रोकरले मार्जिन कर्जा उपलब्ध गराउनेछ । मार्जिन कारोबारका लागि एउटा छुट्टै खाता खोलिएको हुन्छ । मार्जिन कारोबार गरिएको शेयर सोही खातामा जम्मा हुन्छ भने बैंक हिसाब पनि मार्जिन खातामा नै राखिन्छ । मार्जिन कारोबारको उक्त अभिलेख दैनिक रूपमा राखेर नेप्सेलाई र लगानीकर्तालाई पनि जानकारी दिनुपर्छ । शेयर कारोबार गर्ने ग्राहक र ब्रोकरबीच मार्जिन कारोबारका लागि सम्झौता भइसकेपछि शुरूको मार्जिन रकम लगानीकर्ताले ब्रोकर कम्पनीको मार्जिन एकाउन्टमा राख्छ र शेयर खरीद गर्छ । यदि खरीद गरेको शेयरमूल्य घटेर ४० प्रतिशतभन्दा तल गयो भने मार्जिन कल हुन्छ । मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबार योग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन ४० प्रतिशतभन्दा माथि कायम गर्नुपर्नेछ । वास्तविक मार्जिनभन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्रही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्नेछ । मार्जिन कल गरेको तेस्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन ४० प्रतिशतभन्दा माथि नपु¥याएमा ब्रोकरहरूले मार्जिन ४० प्रतिशत कायम गर्न आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र विक्री गर्न सक्नेछ । यसरी धितोपत्र विक्री गर्दा ब्रोकरलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन । तर, शेयर विक्री गरेपछि सम्बन्धित लगानीकर्तासँग हिसाब फछ्र्योट गरी त्यसको जानकारी नेप्सेलाई गराउनुपर्नेछ ।

मार्जिन कर्जाको भाका समाप्त भई नवीकरण नभएको वा नगद भुक्तानी गरी मार्जिन चुक्ता नगरेको अवस्थामा बाहेक ब्रोकरले कुनै कारणले मार्जिन खातामा रहेको शेयर विक्री गर्न सक्ने छैन । मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरूमा सूचीकृत कम्पनीहरूले बोनस शेयर जारी गर्ने भएमा बुक क्लोज गरेपछि मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त धितोपत्रहरूले प्राप्त गर्ने बोनस शेयरलाई बजार मूल्यको ५० प्रतिशत मूल्यांकन गरिनेछ । आर्थिक अभियानमा प्रकाशित समाचार ।

Ad