पत्रपत्रिका । काठमाडौंबाट आज प्रकाशित सबै पत्रिकाले हेलिकोप्टर दुर्घटनाको दुःखद खबरलाई ब्यानर समाचार बनाएर प्रकाशित गरेका छन् । ताएलेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।
गोरखापत्रले ‘पर्यटनमन्त्रीसहित सातको निधन’ भन्ने शीर्षकमा ब्यानर समाचार बनाएको छ । गोरखापत्रमा आज राष्ट्रिय शोक र राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुद्धारा दुःख व्यक्त सहितको समाचार प्रकाशित गरेको छ ।
कान्तिपुरले ‘उडेको एक मिनेटमै पहरोमा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । कान्तिपुरमा लेखिएको छ – हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले मौसम बिग्रिन थालेको भन्दै छिटो जान आग्रह गरे । टोली हतार–हतार उड्यो । लगत्तै ठेचुङका स्थानीयले पाथीभराबाट ओरालो लाग्दै गरेको हेलिकप्टर देखे । सीधै उड्नुपर्ने हेलिकप्टर ओरालो लाग्दै पहरोमा गएर ठोक्कियो । कान्तिपुरले दिवंगत अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको बारेमा पनि सामाग्री प्रकाशित गरेको छ । कान्तिपुरले हँसिलो अनुहार, मिलनसार व्यवहार र सधैं केही गरौं भन्ने जोसले भरिएका अधिकारी धेरैका प्रिय थिए भन्दै अधिकारीका बारेमा सामाग्री छापेको छ ।
अन्नपूर्णले ‘मन्त्रीसहित ७ जनाको निधन’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । अन्नपूर्णमा छापिएको समाचारअनुसार दुर्घटनालगत्तै घटनास्थल पुगेका सिम्रिक एयरका पाइलटले बताएअनुसार उनी दुर्घटनाको १५ मिनेटमै दुर्घटनास्थल पुगेका थिए । जतिबेला हेलिकोप्टर जलिसकेको थियो । उनले भनेका छन् ‘म त्यहाँ पुग्दा सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्वीर खिच्नुको विकल्प थिएन ।’
नागरिकले पनि ‘मन्त्री अधिकारीसहित सातजनाको मृत्यु’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गरेको छ । नयाँपत्रिकाले पनि ‘आशालाग्दा युवानेता अस्ताए’ शीर्षकमा समाचार बनाएको छ । राजधानीले पनि ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना ‘मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु’ शीर्षकमा फोटोसहित ब्यानर समाचार बनाएको छ । राजधानीले हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न भन्ने शीर्षकमा पनि समाचार छापेको छ ।
बिहीबार प्रकाशित आर्थिक पत्रिकाहरुले पनि हेलिकोप्टर दुर्घटना दुःखद समाचारलाई ब्यानर समाचार बनाएका छन् । कारोबारले ‘मन्त्री अधिकारीसहित सातको मृत्यु’ शीर्षकमा समाचार छापेको छ ।