February 21st, 2019

काठमाडौं महानगरपालिकाको बेथिति, भत्ता, सुविधा र भ्रमणमा मात्र सकियो ९ करोड

काठमाडौं  महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको  अनुभूति गर्न सकेका छैनन् ।सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित बसोबासका कारण सास्ती भोगिरहेका छन् । ट्राफिक जाम, पार्किङ अभाव, ढल, खानेपानी, सार्वजनिक शौचालय अभाव जस्ता न्यूनतम सेवासुविधा महानगरवासीले नपाए पनि महानगरको नेतृत्वले भने समस्या समाधानमा चासो देखाएको पाइँदैन ।
नगरवासीका सेवा, सुविधा र विकास निर्माणको क्षेत्रमा ध्यान नदिए पनि सेवा, सुविधा र भत्ता लिने काममा भने महानगरका जनप्रतिनिधि अगाडि देखिएका छन् । चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि १२ अर्ब ४ करोड ११ लाख ५७ हजार विनियोजन गरेको काठमाडौं महानगरपालिकाले ६ महिने अवधिमा ११ प्रतिशत मात्रै बजेट विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्न सकेको छ । तर, सेवा, सुविधा र भत्ताको नाममा भने करोडौं रकम खर्च भएको छ । महानगरले विनियोजित बजेटबाट पुस मसान्तसम्ममा जनप्रतिनिधिका सेवा, सुविधा र भत्ताका मात्र ८ करोड ७० लाख ७६ हजार ७ सय ४१ रुपैयाँ खर्च गरेको छ ।

महानगरले जनप्रतिनिधि सुविधाअन्तर्गत जनप्रतिनिधिको सुविधाका नाममा मात्र परिवहन सुविधा, टेलिफोन, उपचार खर्च पोसाक, दुर्घटना बिमा तथा खाजा खर्च शीर्षकमा ६२ लाख २१ हजार ६ सय ९ रुपैयाँ खर्च गरेको छ । भ्रमण खर्च तथा दैनिक भत्ता खर्चबापत २४ लाख ७६ हजार ५ सय ७० रुपैयाँ ५८ पैसा खर्च गरेको छ । त्यस्तै, अन्य भत्ता शीर्षकअन्तर्गत प्रोत्साहन तथा विविध भत्ता, परिवहन भत्ता र महानगर भत्ताको नाममा ७ करोड ८३ लाख ७८ हजार ५ सय ११ रुपैयाँ ५६ पैसा खर्च भएको महानगरको तथ्यांकमा उल्लेख छ ।

तर, विकास र जनताका दैनिक जीवनयापनमा परिवर्तन देखिने गरी भने काम गर्न सकेको छैन । महानगरको तथ्यांकअनुसार पूर्वाधार विकास र अन्य विकास खर्च शीर्षकमा चालू आर्थिक वर्षमा विनियोजन गरेको १२ अर्ब ४ करोड ११ लाख ५७ हजारमध्ये विकास तथा भौतिक पूर्वाधार निर्माणमा जम्मा ८ अर्ब ४७ करोड ४७ लाख ४७ हजार विनियोजन गरेको थियो जुन कुल बजेटको ७० दशमलव ३८ प्रतिशत हो ।

तर, महानगरले सोचेअनुसार काम गर्न नसक्दा विकासको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट १ अर्ब ४४ करोड ६३ हजार ३ सय ६८ रुपैयाँ ८८ पैसा मात्र खर्च हुन पुगेको छ । जुन यस शीर्षकमा विनियोजित बजेटको ११ दशमलव ६२ प्रतिशत मात्रै हो । महानगरको काममा ढिलाइ, योजना निर्माण तथा व्यवस्थापकीय कमजोरीका कारण रानीपोखरी पुनर्निर्माण तथा धरहरा जस्ता ठूला योजनासमेत महानगरबाट खोसिन पुगेको छ ।  महानगरले कार्यालय सञ्चालन, तलब सुविधा, विकास पुँजीगत सम्पत्ति खर्चलगाायतका शीर्षकमा ८ अर्ब ७४ करोड ४७ लाख ७ हजार १ सय ८५ रुपैयाँ ७७ पैसा खर्च गरेको छ । जुन महानगरको चालू आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको १४ दशमलव ४९ प्रतिशत हो । राजधानी दैनिकमा प्रकाशित समाचार।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]