February 18th, 2019

यस्तो छ बैंकहरुले भारतीय मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था  

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले नेपाली वाणिज्य बैंकहरूले तोकिएका शर्तहरूको अधीनमा रही भारतस्थित बैंक तथा वित्तीय संस्थाहरूबाट भारतीय मुद्रामा लिन सक्ने ऋणको सीमा र दायरामा वृद्धि गरेको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागले २०७५ पुस १० गते एक सूचना जारी गरी नेपाली बैंकहरूले भारतस्थित बैंक तथा वित्तीय संस्थाहरूबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म भारतीय मुद्रामा ऋण लिन सक्ने सीमालाई बढाएर ५० प्रतिशत पु-याएको हो ।

यसैगरी, बैंकले २०७५ साउन २३ गते लागू गरेको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले जलविद्युत् उत्पादन तथा प्रसारण लाइन विस्तार, सडक, सुरुङ मार्ग, विमानस्थल, केबलकार, पुल जस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकास जस्ता रियल स्टेटको क्षेत्र बाहेक) निर्माण, विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न यस्तो ऋण लिन सक्नेमा जलविद्युतका साथै सौर्य ऊर्जा र वायु ऊर्जा सहितको नवीकरणीय ऊर्जा उत्पादन तथा प्रसारण लाइन विस्तारका लागि समेत यस्तो ऋण लिन सक्ने गरी दायरा बढाएको हो ।

यसअघिका अन्य सबै व्यवस्था कायमै राखी ऋणदाताले लगाउने अन्य सम्पूर्ण शुल्क समेत गरी ऋणको अधिकतम व्याजदर भारत सरकारले जारी गरेको पछिल्लो ३६४ दिने ट्रेजरी बिलको औसत डिस्काउण्ट दरमा अधिकतम १ प्रतिशत प्रिमियम थप गरी कायम गर्नुपर्ने व्यवस्था खारेज गरी यस्तो ऋणको अधिकतम व्याजदर MCLR (Marginal Cost of Funding based Lending Rate)मा अधिकतम १ प्रतिशतभन्दा बढी नहुने गरी तय गरेको हुनुपर्ने व्यवस्था कायम गरिएको छ । नेपाल राष्ट्र बैंक समाचार बर्ष ४३ अंक ५ बाट 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]