February 15th, 2019

ओली सरकारको एक वर्षः ‘खाली भाँडो आधा भरियो’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकिर गरेका छन्। उनले आफू नेतृत्वको सरकारले उत्साहजनक काम गरिरहेको बताए।

सरकारले एकवर्षे कार्यकाल पूरा गरेको सन्दर्भमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पटक–पटक सरकार फेरिने बानी परेकालाई अहिले सरकारले काम नगरेजस्तो मात्रै भएको हो। तर, सरकारले काम गरिरहेको छ।’ उनले अब सरकार नफेरिने बताए। उनले भने, ‘म विनम्र अनुरोध गर्छु, बानी फेरौं, नयाँ बानी पारौं।’

आफ्नो नेतृत्वको सरकारले एक वर्षमा मुलुकको समृद्धिका लागि आधार तयार पारेको उनले बताए। उनले भने, ‘निष्ठापूर्वक सरकारले एकवर्षे अवधि पूरा गरेको छ। यो एक वर्ष आधार वर्ष भएको छ। आगामी वर्ष उपलब्धिका वर्ष हुनेछन्।’

उनले ५ वर्षे कार्यकाल पूरा गरी अर्काे आमनिर्वाचनमा जाँदासम्म घोषणपत्रमा व्यक्त प्रतिवद्धता पूरा गरेरै छाड्ने बताए। सरकार प्रभावकारी हुन नसकेको भन्दै सत्तारुढ दल नेकपाभित्रै पनि आवाज उठ्न थालेको छ। ओली गत वर्ष फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका थिए। ओलीले पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन वर्षका रूपमा उल्लेख गरे। ‘यस वर्षलाई मैले आगामी ५ वर्षको मात्र नभई भविष्यको पनि आधार वर्ष भनेको हुँ। आज गरिने काम भविष्यका लागि आधार हो।’ राजनीतिक स्थिरतालाई समृद्धितर्फको यात्राका लागि एउटा आधार मानेको उनले बताए।

उनले भने, ‘सरकारको नेतृत्व सम्हाल्दै गर्दा देशमा संवैैधानिक व्यवस्था मात्र थियो। संरचना केही नभएको अवस्थामा काम सुरु गर्दा पनि पानी खन्याउने अनेक प्रयास भए।’ विचारधारात्मक आग्रह/पूर्वाग्रहका आधारमा लोकतन्त्र खुम्चिएको र अधिनायकवाद आएको भनी भ्रम फैलाउनु दृष्टिदोष मात्र भएको प्रधानमन्त्रीको भनाइ थियो।

उनले थपे, ‘केही मानिसमा विचारधारात्मक आग्रह/पूर्वाग्रह देखिँदै छ। जनतालाई सबै हिसाबमा सार्वभौम तुल्याउने र उनीहरूलाई सवल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न ‘लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो’ भन्ने अफवाह फैलाइँदै छ। फैलिँदो र फैलिएको परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्यलाग्दो दृष्टिदोष हो।’ अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]