छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो। मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो बेकामे बनेको छ। अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ।’
स्विट्जरल्यान्डको जेनेभामा रहेको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स (सर्न) ले यो कम्प्युटर नेपाल सरकारलाई उपहारका रुपमा प्रदान गरेको हो। सर्वसाधारणले बुझ्ने भाषामा सुपर कम्प्युटर भनिए पनि यसलाई ‘हाइ परफरमेन्स कम्प्युटिङ’ (एचपिसी) भनिन्छ। यसलाई अहिले काठमाडौं विश्वविद्यालय मातहत आइटी पार्कमा राखिएको छ।
यो कम्प्युटर सञ्चालनका लागि दुई तरिकाबाट समस्या भइरहेको शाक्यले बताए। पहिलो, दिगो सञ्चालनका लागि ठूलो खर्च लाग्छ। यो कम्प्युटरलाई पूर्णक्षमतामा चलाउन नियमित रुपमा २ सय केबी विद्युत् सप्लाई गर्नुपर्छ। २४ सै घण्टा विद्युत् दिइरहनु पर्ने यो कम्प्युटरको विद्युत् खर्च मात्र मासिक झन्डै ४ लाख हुन्छ। विद्युत्मा मात्र यति ठूलो खर्च हुने सुपर कम्प्युटर काम नपाएर थन्किएको छ। दोस्रो, ठूल्ठूला प्रोसेसिङ र डाटा प्रयोग गर्ने कम्पनी नहुँदासम्म यसलाई चलाउन नसकिने शाक्यले बताए। सुपर कम्युटरले काम नपाएपछि काठमाडौं विश्व विद्यालयले सरोकारवालासँग छलफल तयारी गरिरहेको छ। यसको प्रयोग गर्न सक्ने सम्भावित सरोकारवाला कम्पनीसँग महिना दिनभित्रै छलफल गर्न लागेको विश्वविद्यालयका कम्प्युटर एन्ड साइन्स विभाग प्रमुख डा. बालकृष्ण बालले बताए। यो कम्प्युटरलाई पूर्णरुपमा सञ्चालन गर्न अझै २–३ वर्ष लाग्न सक्ने अनुमान छ।
के हो सुपर कम्प्युटर
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रै नेपालीले बनाएको सुपर कम्प्युटर’ भनेर भाषण गरे पनि यो सर्नले ‘एस्ट्रो फिजिक्स’ जसमा बिगव्याङ थ्योरीको रिसर्च गर्न ३ वर्ष प्रयोग गरेको कम्प्युटर हो। विदेशीले यस्ता खालका कम्प्युटर दुई–तीन वर्ष प्रयोग गरेपछि अरुलाई वितरण गर्छन्।
यो कम्प्युटरमा साढे ७ टेरावाइट र्याम र साढे १ पेटाबाइट स्टोरेज क्षमता छ। यसमा १८४ वटा सिपियू, १६ वटा डिक्स सर्भर, १२ वटा नेटवर्क सर्भर स्विचहरु रहेको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। यो सुपर कम्प्युटरमा १ सय ८४ नोट छन्। एउटा नोट नै शक्तिशाली हुन्छ। झन्डै एक करोडभन्दा धेरै मूल्य पर्ने सुपर कम्प्युटरले सामान्य खालका करिब २ हजार कप्युटरको काम गर्ने क्षमता छ। यसले एकै समयमा धैरै समस्या लिन सक्ने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्छ। यसमा हाल काठमाडौंैं विश्वविद्यालयका विद्यार्थीले रिसर्चको काम गरेका छन्। नागरिक दैनिकमा प्रकाशित समाचार ।