जापान सरकारले करीब ९१ अर्ब डलरबराबरको पूरक बजेट ल्याउने योजना बनाइरहेको छ । स्थानीय सञ्चारमाध्यम क्योदोले बताएअनुसार सरकारले गर्मीयामको माथिल्लो सदनको निर्वाचनपछि विशेष संसद् सत्रमा यस आर्थिक वर्षका लागि भने ४५ अर्ब ३० करोड डलर देखि ९० अर्ब ७० करोड डलरबीचको नयाँ पूरक बजेट पेश गर्ने बताइएको छ । नयाँ पूरक बजेट सार्वजनिक कामका परियोजनाहरूमा खर्च गरिने बताइएको छ ।
यो चालू आवको दोस्रो अतिरिक्त बजेट हुनेछ । यसअघि मध्य अप्रिलमा दक्षिण पश्चिम जापानमा भूकम्प गएपछि सरकारले पुनर्निर्माण कार्यलाई आवश्यक रकम उपलब्ध गराउन ७ अर्ब डलरको अतिरिक्त बजेट पारित गरेको थियो । इसे–शिमा राष्ट्रिय निकुञ्जमा सात औद्योगिक राष्ट्र जी–सेभेनको शुक्रवार सम्पन्न दुईदिने सम्मेलनमा भएको छलफलहरूलाई दृष्टिगत गर्दै प्रधानमन्त्री सिञ्जो आबेले अर्को अतिरिक्त बजेट ल्याउन लागेको बताइएको छ ।
वर्तमान आर्थिक परिदृश्य सन् २००८ मा अमेरिकी लगानी बैङ्क लेहम्यान ब्रदर्श टाट पल्टिएपछिको विश्वव्यापी वित्तीय परिदृश्य जस्तै भएको भन्दै सम्मेलनमा आबेले कमजोर विश्वव्यापी माग र घरेलु खपतका बारेमा चिन्ता व्यक्त गरेका थिए । कर वृद्धिले जापानको आर्थिक पुनर्बहाली धरापमा पर्ने भयका कारण अप्रिलमा गर्ने भनिएको मूल्यवृद्धि कर बढाउने योजनालाई थाती राख्ने अपेक्षा गरिएको छ । विश्व बजारमा कच्चा तेलको भाउमा आएको कमीका कारण मुद्रास्फीतिलाई २ प्रतिशतमा पु¥याउने लक्ष्य हासिल हुन नसकेको अवस्थामा कर वृद्धिको योजनालाई सरकारले पर धकेल्ने सम्भावना बलियो बनेको छ । एजेन्सी