बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना २३ जना ग्राहक सदस्यहरुको सहभागितामा बाँके जिल्लाको कोहलपुरमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकहरु डा. भिषण गजमेर, गोविन्द रोकाया, दीपा शर्मा कार्यक्रम ब्यवस्थापक जिताराम गौतम, शाखा प्रमुख पुष्पा कुमारी सुबेदी रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको र संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम ब्यवस्थापक जिताराम गौतमले बताए ।
तालिमबा प्रशिक्षार्थिहरुले बाख्रापालन ब्यवसायको एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व लगायतका बारेमा जानकारी लिएका थिए ।
संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याएको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
संस्थाले २०७५ कार्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ काार्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ ।