बैंकिङ खबर । सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितीको अध्यक्षमा कमल प्रसाद ज्ञवाली चयन भएका छन् । लघुवित्तको शनिबार सम्पन्न वार्षिक साधारणसभाले ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो ।
साधारणसभाबाट नयाँ कार्यसमितीमा कमल प्रसाद ज्ञवालीका साथै पूर्णबहादुर ज्ञवाली, माधव प्रसाद आचार्य र रमा ज्ञवाली निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ओमप्रसाद पंगेनीले जानकारी दिए । साधरणसभाले अध्यक्ष ज्ञवालीद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, संस्थाको आर्थिक प्रतिवेदन र १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाका अवसरमा बोल्दै संस्थाका पूर्वअध्यक्ष समेत रहेका ज्ञवालीले २०७५ साल बैशाखदेखि शुरु भएको संस्था सफलतापूर्वक अघि बढिरहेको र यसलाई अझै सुदृढ बनाउन लागिपरेको बताए । कपिलवस्तुको गोरुसिंगेमा केन्द्रीय कार्यालय रहेको १० जिल्ले संस्थाले छिट्टै थप शाखा विस्तार गर्न लागेको उनले बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बाबुलाल नेपालले कपिलवस्तुको गोरुसिंगे, ओदारी, विजयनगर, रुपन्देहीको बाँसगढी, मानपकडी, ठुटिपिपल, तिलोत्तमा चार नम्बर, नवलपरासीको भुताहा, अस्नैया, अर्घाखाचीको ठूलापोखरा, गुल्मीको खैरेनीमा गरी ११ शाखा रहेको र छिट्टै पाल्पाको तानसेन, नवलपरासीको बरुवा र कपिलवस्तुको लबनीमा शाखा खोल्न लागिएको जानकारी दिए ।
संस्थाका अध्यक्ष कमलप्रसाद ज्ञवालीको अध्यक्षता, सदस्य माधव प्रसाद आचार्यको स्वागत मन्तव्य, प्रमुख कार्यकारी अधिकृत बाबुलाल नेपालको संचालन रहेको कार्यक्रममा सेयर सदस्यहरु सरोज ज्ञवाली, विमलराज भट्टराई, डा. अनन्त पन्थी, विष्णु अर्याल लगायतले बोलेका थिए ।