December 14th, 2018

नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत लाभांश पारित

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले ४० प्रतिशत लाभांश पाउने भएका छन् । संस्थाको शुक्रबार सम्पन्न पाचौँ वार्षिक साधारणसभाले संचालक समितिद्धारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । बोनस सेयर पारित भएपश्चात संस्थाको चुक्ता पुँजी १२ करोड तीन लाख ५६ हजार रुपैयाँबाट वृद्धि भई १५ करोड चार लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

संचालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले अध्यक्षद्धारा प्रस्तुतआ.व. २०७४।७५को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । 

पाचौँ वार्षिक साधारणसभाले सस्थापकतर्फवाट चार जना संचालकहरुको मनोनयन गरेको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट रबिन सिंजापती र बरुण श्रेष्ठ, कुमारी बैंकको तर्फबाट  राजिव गिरी तथा केशव प्रसाद आचार्य रहेका छन् ।

२०७१ आषाढ १८ गते देखि संचालनमा आएको राष्ट्रिय स्तरको यस माइक्रोफाइनान्सले चालु आ.व. को २०७५ असोज मसान्तसम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ६६ हजार भन्दा बढी विपन्न परिवारमा आफ्नो पहुँच विस्तार गरेको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा दुई अर्ब ६३ करोड र बचत ८४ करोड रुपैयाँभन्दा बढी सदस्यहबाट संकलन गर्न सफल भएको छ ।

ग्राहकहरुमा उद्यमशिलता विकास गर्नका लागि आवश्यकता पहिचान गरि सिप विकास तालिम तथा कार्यक्रमतर्फ मुख्य ध्यान केन्द्रीत गर्ने प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताए ।