बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ४२.११ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको मंसिर २५ गते सम्पन्न बीसौंं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २२.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका संचालक समितिका अध्यक्ष गणेश बहादुर थापाको सभापतित्वमा सम्पन्न साधारण सभाले पारित गरे अनुसार सेयरधनीले २० करोड बराबरको बोनश शेयर र २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैया नगद लाभाश पाउने छन् ।
साधरण सभामा अध्यक्ष थापाले आ.व. २०७४।७५ को वार्षिक प्रतिवेदन पेश गरे । साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७४।७५ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु समेत सर्वसम्मतिले पारित गरेको छ।
विशेष प्रस्ताव तर्फ संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनश शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु पनि सर्वसम्मतिबाट पारित भएको छ ।
त्यस्तै, साधारणसभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०७५।७६ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पाँच लाख रुपैयाँ निर्धारण गरेको छ ।
निर्वाचन प्रस्ताव तर्फ समूह “क” संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना संचालकको निर्वाचन भएकोमा श्री देवेन्द्र बहादुर राउत सर्वसम्मतिबाट निर्विरोध निर्वाचित हुनु भएको थियो । त्यसै गरी समूह “ख” सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी २ जना संचालकको निर्वाचन भएकोमा श्री टोप बहादुर रायमाझी र श्री संम्रिता तिवारी निर्वाचित हुनु भएको थियो ।
उक्त सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृत नाथ रेग्मी, दामोदर प्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे, सुदर्शन प्रसाद अधिकारीले साधारण सभामा आफ्नो राय तथा सुझाबहरु पेस गरेका थिए । साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै मन्तव्य व्यक्त गरे । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट स्वीकृत गरे ।
गत आ.व. २०७४।७५ मा ५४ करोड ३१ लाख ७२ हजार ८४६ रुपैयाँ खुद मुनाफा गरेको थियो भने चालु आ.व.को ४ महिनामा रु. २० करोड १६ लाख १ हजार ३९१ रुपैयाँ खुद मुनाफा गरेको छ । संस्थाको चुक्ता पूँजी रु. १०० करोड रहेकोमा यस साधारण सभामा प्रस्तावित बोनश शेयर २० प्रतिशतका दरले २० करोड बोनश शेयर वितरण गर्न स्वीकृति अनुमोदन भएपछि संस्थाको चुक्ता पूँजी १२० करोड पुगेको छ ।