वार्षिकोत्सवको अवसर पारेर वित्तीय संस्थाले आफ्नो केन्द्रीय कायालयको प्राङ्गणमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका तथा अन्य बैंक तथा वित्तीय संस्थाका गरी ३३ जनाले रक्तदान गरेका थिए ।
लघुवित्तले बिभिन्न १४ वाट शाखाहरु मार्फत स्थानीय बिद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यसतै, संस्थाको संस्थागत समाजिक उत्तरदायित्वलाई ध्यानमा राखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्राबिधिक सहयोगबाट सिन्धुपाल्चोक जिल्लामा रहेको बाहुनेपाटी शाखामा एक दिने निःशुल्क आँखा शिविर संचालन गरेको छ । उक्त शिविरमा निःशुल्क आँखा परीक्षण र औषधी वितरण गरिएको थियो ।
काठमाडौंको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्था, लक्ष्मी बैँकको सहायक कम्पनीको रुपमा स्थापित राष्ट्रियस्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा आफ्नो कारोबार संचालन गर्दै आएको छ । यस वित्तीय संस्थाले २०७५ कार्तिक मसान्त सम्ममा ४७ वटा जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७२,१२६ ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । धितो तथा विना धितो गरी संस्थाको लगानीमा रहीरहेको कर्जा कूल रु.२ अर्ब ९८ करोड रहेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट रु. १ अर्ब १ करोड बचत संकलन गरेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण, आधुनिक मोबाईल बैँकिङ्ग सेवा र शाखा रहित बैँकिङ्ग कारोबार संचालन गर्दै आइरहेको छ ।