बैंकिङ खबर । सिमकोट गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २७ की सिर्जना काफ्लेले किराना पसल गरेकी छिन् । सानो घुम्तीबाट सुरु गरेको किराना पसल अहिले विस्तार हुँदै गएको छ । उनले यही किराना व्यवसायबाट सिमीकोट—१ मा घडेरी जोडी सकेकी छिन् भने छोरा छोरीहरुलाई बोर्डिङ्ग स्कूलमा पढाउँदै आएकी छिन् । पसलमा श्रीमान् र श्रीमती दुवै जनाले रोजगार प्राप्त गरेका छन् । उनले यस व्यवसायबाट मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेकी छिन् । उनले यस व्यवसायलाई अझै विस्तार गर्ने सोच बनाएकी छिन् ।
सिर्जनाको जन्म हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं. ७ मा वि.सं. २०४७ जेठ महिनामा भएको थियो । विकट हिमाली जिल्लाको दुर्गम गाउँमा जन्म भएको उनको परिवारिक स्थिति एकदमै दुखद थियो । छोरीलाई पढाउन नहुने मान्यता हुँदाहुँदै घरबाट भागेर स्कुल जाने उनले १२ कक्षासम्म पढिन् । १४ वर्षको सानो उमेरमै सिमकोटका मुक्ति लामिछानेसँग उनको विवाह भयो । विवाह भएको घरमा पनि आर्थिक अवस्था उत्तिकै कमजोर थियो । त्यसमाथि एउटा छोरा र एउटी छोरी थपिएपछि व्यवहार नै चलाउन गाह्रो भयो ।
घरमा खान लाउनकै समस्या हुन थालेपछि श्रीमान् श्रीमती मिलेर व्यवसाय गर्ने सोच बनाए । तर, व्यवसाय सुरु गर्नका लागि अलिकति पनि पुँजी उनीहरुसँग थिएन । गाउँकै एक व्यक्तिसँग ऋण लिएर उनीहरुले किराना पसल सुरु गरे । व्यक्तिसँग लिएको ऋणको व्याज एकदमै महँगो थियो । व्यवसायबाट भएको नाफाबाट व्याज तिर्दा आफ्नो लागि थोरै मात्रै बच्थ्यो । तर, अरु विकल्प पनि केही थिएन ।
यसैबीच, वि.सं. २०७२ बैशाखमा निर्धन उत्थान बैंक लिमिटेड शाखा कार्यालय सिमीकोट शाखा स्थापना भयो । अब सिर्जनालाई कर्जा लिएर व्यवसाय विस्तार गर्न सहज भयो । वि.सं. २०७२ असारमा एउटा समूह गठन गरी उनले निर्धन उत्थान बैंकबाट ६० हजार रुपैयाँ कर्जा लिइन् र आफ्नो पसल विस्तार गरिन् । कर्जाको पूर्ण सदुपयोग गर्दै उनले व्यवसायलाई बढाउँदै गइन् । वि.सं. २०७३ माघमा उनले एक लाख रुपैयाँ थप कर्जा लिइन् र व्यवसाय फराकिलो बनाइन् । व्यवसाय बढ्दै गयो, फस्टाउँदै गयो र नाफा पनि बढ्दै गयो । गाउँबाट लिएको ऋण चुकाउन पनि उनलाई सहज भयो ।
उनको यस लगनशील काममा उनका श्रीमान्ले साथ थिए । अहिले श्रीमान्ले नेपालगंजबाट सामान पठाउँछन् र उनी पसलमा बस्छिन् । उनी भन्छिन्, ‘अहिले घर व्यवहार चलाउन धेरै चिन्ता छैन ।’ उनकी छोरी अहिले कक्षा ५ मा पढ्दै छिन् भने छोरा कक्षा १ मा पढ्दै छ । केही न केही व्यवसाय गरेर आर्थिक रुपमा अगाडी बढ्न सके महिलाहरु पनि सफल बन्न सक्ने उनको धारणा छ । महिलाहरुलाई उद्यमशील बनाउनका लागि निर्धन उत्थान बैंकको सहयोगको उनी प्रशंसा गर्छिन् ।
कुनै बेला दैनिक गुजारा गर्न धौधौको स्थिती सामना गरेकी सिर्जना आज भविष्यका लागि बचत गर्ने भइसकेकी छिन् । उनले छोरा छोरीको भविष्यको लागि एक हजार रुपैयाँको समृद्धि बचत खाता खोली मासिक रुपमा बचत गर्दै आएकी छिन् । (लेखकः रमेश कुमार आचार्य, शाखा प्रमुख, निर्धन उत्थान बैंक, सिमीकोट, हुम्ला ।)