बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड मंसिर ११ गतेदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको छ । देशको लघुवित्त क्षेत्रमै अग्रणी भुमिका निर्वाह गर्दै आएको यस वित्तीय संस्था मिति २०५८ मंसिर ११ मा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाको रुपमा अनुमती लिई स्थापना भएको हो ।
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई विनाधितोमा ५ लाखसम्म र धितो सुरक्षणमा ७ लाखसम्म ऋण सापट उपलव्ध गराउदै आएको छ । विपन्न वर्गका सदस्यहरुलाई मासिक रुपमा पेन्सन दिने गरि पेन्सन वचत लगायत अन्य वचतका कार्यक्रम, सुरक्षणका साथै विभिन्न किसिमका प्रोत्शाहन एवं पुरस्कारहरु, सिपमुलक तालिम, छात्रवृत्ती जस्ता क्रेडिट प्लसका कार्यक्रमहरु उपलव्ध गराउँदै आएको छ ।
वित्तीय संस्थाले २०७५ कार्तिक मसान्तसम्ममा देशका विभिन्न ६७ वटा जिल्लाहरुमा १३४ वटा शाखा, ७९ वटा डिजिटल प्वाइन्ट मार्फत जम्मा ३ लाख ५८ हजार ७ सय २८ सदस्यलाई सेवा दिइरहेको छ भने रु.१७ अर्व २४ करोड ५६ लाख ५९ हजार ६ सय २० ऋण लगानी गरी र रु.१२ अर्व ६८ करोड ५ लाख १० हजार ९ सय ३३ बचत संकलन गरेको छ ।