November 22nd, 2018

प्यूठानको भिंग्रीमा निर्धन उत्थान लघुवित्तद्धारा बाख्रापालन तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २५ जना ग्राहक तथा अभिवावकहरुको सहभागितामा २०७५ कात्तिक २८ गतेदेखि ३० गतेसम्म प्यूठान जिल्लाको जलूकेमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बादुर रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा बाबुराम न्यौपाने, द्रोण प्रसाद पोख्रेल, नेत्र बहादुर के.सी., शम्भु न्यौपाने र रेशम लाल तिवारीले प्रशिक्षण दिएका थिए । 

एक परिवारमा एक जना उद्यमी बनाउन निर्धन उत्थान लघुवित्तले पहल गरीरहेको संस्थाका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले बताए । साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत उनले जानकारी दिए ।

बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका भिग्री शाखाका शाखा प्रमुख रेशमलाल तिवारीले बताए ।

तालिमको अन्त्यमा सहभागीहरु कमला खनाल र तारा शेनले तालिमको मूल्यांकन गरी ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने धारणा राखे । 

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ ।