November 21st, 2018

आरएमडीसीका साझेदार लघुवित्त संस्थाहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न 

बैंकिङ खबर । साझेदार लघुवित्त संस्थाहरुको सहभागितामा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रदेश नं २ र ३ मा अवस्थित १३ वटा साझेदार लघुवित्त संस्थाहरुका अध्यक्ष, संचालक सदस्य, कार्यकारी प्रमुख लगायत २३ जना उच्च पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा गोष्ठीको संयोजक तथा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दैै आरएमडीसीले स्थापनाकालदेखि नै साझेदार लघुवित्त संस्थाहरुको नियमित रुपमा संचालन गर्दै आएको समीक्षा गोष्ठीले एक अर्कालाई चिन्ने, बुझ्ने र एक आपसमा अनुभव साटासाट गरी सिक्ने र सिकाउने अवसर दिँदै आएको जानकारी गराए । यसले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौती निराकरण गर्नमा ठुलो सहयोग पुर्याउने उनको भनाई थियो । 

आरएमडीसीका नायव प्रमुख कार्यकारी अधिकृत राम दयाल राजवंशीले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा आरएमडीसीको भूमिका महत्वपूर्ण रहेको बताए ।

गोष्ठीको उद्घाटन सत्रको समापन गर्दै आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले कार्यक्रमको उपादेयता र यसबाट लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पारे । 

कार्यक्रममा सबै सहभागी संस्थाहरुका प्रतिनिधीहरुले आफ्नो संस्थाको अनुभव, प्रगति विवरण र संस्थामा देखिएका समस्या तथा चुनौतीहरु प्रस्तुत गर्नुका साथै समस्या समाधानको लागी चालेका कदमहरु र गरेका श्रृजनात्मक कार्यहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । गोष्ठीमा आरएमडीसीले साझेदार संस्थाहरुको अनुगमन गर्दा देखेका समस्याहरु बारे प्रस्तुतीकरण गरी विस्तृत छलफल गरेको थियो । 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीले लघुवित्त सम्बन्धी नेपाल राष्ट्र बैकको नीति नियम, निर्देशन, संस्थागत सुशासन आदिको बारेमा गहन प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गरेका थिए । साथै उनले नेपालमा लघुवित्त क्षेत्रको विकास र प्रबद्र्धनमा नेपाल राष्ट्र बैकले शुरुदेखि नै सकारात्मक सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल राष्ट्र बैकको सहयोगी भूमिका रहने कुरा समेत व्यक्त गरेका थिए ।

गोष्ठी कार्यक्रम एक अर्काको अनुभवबाट सिक्ने भएकोले अत्यन्तै उपयोगी थलो भएको र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बारे सहभागी संस्थाका प्रतिनिधीहरुले जोड दिएका थिए । गोष्ठीमा सम्पूर्ण सहभागीहरुको सर्वसम्मतीमा आगामी कार्यदिशा निर्माण गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गोष्ठी सम्पन्न भएको थियो ।