बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमासिक समिक्षा बैठक सम्पन्न गरेको छ । कात्तिक २७ र २८ गते आयोजित समिक्षा बैठक कार्यक्रममा वित्तीय संस्थाका ३१ वटा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत चोम बहादुर विश्वकर्मा, व्यवस्थापन तहमा कार्यरत वरिष्ठ अधिकृत इन्द्र बराली, अधिकृतहरु इश्वरी ज्ञवाली, भरत कुमार रसाली, शर्मिला वि.क. र सन्तोष रसाइली ले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण गर्नुका साथै सुझावहरु दिएका थिए ।
त्यस्तै, संस्थाले कात्तिक २९ र ३० गते लघुबीमा सम्बन्धि तालिम पनि सम्पन्न गरेको छ । संस्थाका सीईओ श्रीराम पोख्रेलको अध्यक्षतामा सम्पन्न तालिममा केन्द्रीय कार्यालयका कर्मचारी तथा शाखा कार्यालयका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । नेपाल बीमक संघको आयोजनामा सञ्चालित लघुबीमा सम्बन्धि दुई दिने तालिममा तालिम कार्यक्रममा नेपाल बीमक संघका कार्यकारी निर्देशक द्रोण प्रसाद आचार्य, दिनेश प्रसाद पन्त र शिला ज्ञवाली ले प्रशिक्षण गर्नु भएको थियो भने स्रोत व्यक्तिको रुपमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.का क्षेत्रीय प्रवन्धक माधव रेग्मी तथा शिखर इन्स्योरेन्स कम्पनी लि. का शाखा संयोजक अरुण देव आचार्य रहेका थिए ।
उक्त तालिम कार्यक्रममा लघुवित्तका ग्राहक सदस्यहरुलाई लक्षित गरी ल्याइएका गार्हस्थ बीमा, व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, लघु व्यवसाय बीमा, गम्भीर प्रकृतिका रोग बीमा, पशुधन बीमा र बाली बीमाको बारेमा जानकारी गराउनुका साथै बीमा लेख जारी गर्ने तथा बीमा दाबी गर्ने प्रक्रियाको सम्बन्धमा अभिमुखीकरण गरिएको थियो । तालिममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई प्रमाणपत्र वितरण सँगै कार्यक्रमको समापन नेपाल बीमक संघका कार्यकारी निर्देशक द्रोण प्रसाद आचार्यले गरेका थिए ।
वित्तीय संस्थामा आवद्ध सदस्यहरुको दैनिक जीवनमा आइपर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणमा राहत पुर्याउने उद्देश्यका साथ यस वित्तीय संस्थाले नेपाल बीमक संघको सिफारिसमा शिखर इन्स्योरेन्स कम्पनी लि. बीमकको बीमा अभिकर्ता भई काम गर्न पाउने गरी बीमा समितिबाट इजाजत पत्र प्राप्त गरेको छ ।