November 18th, 2018

निर्धन उत्थान लघुवित्तद्धारा उद्यमशीलता विकास तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्तिक २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको भुरिगाउँमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा भुरिगाउँ शाखाका २२ जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको संस्थाका भुरिगाउँ शाखा कार्यालयका शाखा प्रमुख माधव शर्माले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरुमा संस्थाको केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत जिताराम गौतम रहेका थिए ।

तालिममा ग्राहक सदस्यहरुले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाखा्रपालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरु, विभिन्न प्रविधि सम्बन्धी भिडियोहरु, संस्थाको सेवाहरु, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बजार, बजारिकरण, बजार सञ्जालको महत्व बारेमा जानकारी लिएका छन् ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट चन्द्रकला पोखरेल, ललिता चौधरीले तालिमको मूल्याकंन गरेका थिए । यस उद्यमशीलता विकास तालिम फाइदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताए । संस्थाले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफनो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुशी ब्यक्त गरे । समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाका सहायक दिपेन्द्र वली, सहायक सुस्मिता आचार्य, लेखापाल मानबहादुर भण्डारी, शाखा प्रमुख माधव शर्मा, कार्यक्रम अधिकृत जिताराम गौतमले मन्तब्य दिए । 

कार्यक्रम अधिकृत गौतमले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको बताए । संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत गौतमले बताए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ ।