October 30th, 2018

सबैको लघुवित्तका नयाँ शाखा प्रमुखहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम

बैंकिङ खबर । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक ११ र १२ गरे संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले संस्थाको आगामी रणनीति, शाखा प्रमुखहरुको भुमिका, संस्थालाई सक्षम बनाउन सदस्य छनौट तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, हाल लघुवित्त संस्थाहरुमा देखिएको कर्जा दोहोरोपना र हालै नेपाल राष्ट्र बैकले लघुवित्त संस्थालाई जारी गरेको निर्देशन अनुसार शाखा प्रमुखहरुले काम गर्नुपर्ने लगायतका विषयमा चर्चा गरे । 

नयाँ शाखा प्रमुखहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका प्रबन्धक गंगापाल चौधरी, बरिष्ठ अधिकृत सन्तोष कुमार दत्त, अधिकृत प्रल्हाद के.सी. कुवंर लगायतले आफ्नो बिभाग सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

२०७४ आषाढ २५ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको सबैको लघुवित्तले आ.व २०७४।०७५ मा २१ वटा शाखा कार्यालय मार्फत् आफ्नो कार्यक्रम संचालनमा ल्याएकोमा चालु आ.ब. २०७५।७६ मा थप १० नयाँ शाखाहरु बिस्तार गरेको छ । हाल यस संस्थाका ३१ वटा शाखाहरु, सदस्य संख्या १७ हजार, उठाउन बाँकी कर्जा रु. ९१ करोड ११ लाख र सदस्यहरुको कूल बचत रकम रु. १७ करोड ५१ लाख रहेको छ ।