बैंकिङ खबर । लघुवित्त कार्यक्रम संचालनमा नेपालको अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७औं वार्षिक साधारण सभा केन्द्रका प्रबन्ध समितिका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात र सो को मितिमा समाप्त आ.व.२०७४/७५ को आम्दानी तथा खर्च हिसावसहितको वित्तीय विवरण, आ.व.२०७५/७६ को लेखा परीक्षणको लागि लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सभामा अध्यक्ष श्रेष्ठले केन्द्रको स्थापनाको औचित्य एवं नेपालको गरिवी निवारणको लागि लघुवित्तमार्फत गरेको कामको अनुभव र अनुभूतिका साथै नेपालमा लघुवित्तको वर्तमान स्थितिबारे आफ्नो धारण राखे । उनले विपन्नवर्गको आर्थिक, सामाजिक एवं उद्यमशीलता विकास मार्फत रोजगारी श्रृजनामा लघुवित्त क्षेत्रले पुर्याएको योगदानको पनि चर्चा गरे । लघुवित्तमा पछिल्लो समयमा देखा परेको अस्वस्थ प्रतिष्पर्धा एवं विचलनबारे समयमा नै सबै सरोकारवाला सचेत भई सुधारको लागि कदम चाल्नुपर्ने उनले औँल्याए । अन्यथा लघुवित्त दीगो रुपमा संचालन हुनमा आघात पुग्ने उनको भनाई थियो ।
नेपालको लघुवित्तको वर्तमान स्थिति एवं हाल देखापरेको समस्याबारे नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालक मणी अर्याल, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका अध्यक्ष विन्दिया प्रधान र साहारा नेपाल सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी र नवप्रतिभा सहकारी संस्थाका कार्यकारी प्रमुख राम प्रसाद काफ्लेले आफ्नो विचार राखे ।
केन्द्रको हालको प्रबन्ध समितिको कार्यकाल समाप्त भएकोले सभाले सर्वसम्मत नयाँ प्रबन्ध समिति समेत चयन गरेको छ । नयाँ प्रबन्ध समितिमा शंकरमान श्रेष्ठ, डा.सुमित्रा मानन्धर गुरुङ, सहारा नेपाल सहकारी संस्थका महेन्द्र गिरी, नेरुडे लघुवित्त वित्तीय संस्थाका मणी अर्याल, युनिक नेपालका डा.गोपाल दहित, मानुषी लघुवित्त वित्तीय संस्थका शोभा बज्राचार्य र किसान बहुउद्देश्यिय सहकारी संस्थाका डम्बर बहादुर शाह निर्वाचित भएका छन् ।