October 7th, 2018

नागरिक लघुवित्तको प्रथम वार्षिक साधारणसभा : ३००% हकप्रद सेयर पारित

बैंकिङ खबर । असोज २० गते शनिबार नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा काभ्रेको बनेपामा सम्पन्न भएको छ । उक्त साधारणसभाले अध्यक्ष लक्ष्मी राज पौडेलद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु अनुमोदन गरेको छ । 

साधारण सभाले हाल विद्यमान चुक्ता पूँजी एक करोड ७५ लाख रुपैयाँलाई बृद्धि गरी सात करोड रुपैयाँ पुर्याउन एक बराबर तीनको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गर्ने निर्णय गरेको छ । 

त्यस्तै, ५ जना सञ्चालकहरुको लागि भएको  निर्वाचनबाट क्रमशः लक्ष्मीराज पौडेल, केशव दुवाडी, सुन्दर खडका, मिना सैंजु र कल्पना बराल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा समाप्त भए लगत्तै बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी राज पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय समेत गरेको छ ।

नागरिक लघुवित्त वित्तीय संस्था लि. साँगा, काभ्रेमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था हो । पहाडी १० जिल्ला कार्य क्षेत्र रहेको यस वित्तीय संस्थाले हालसम्म ६ वटा जिल्लामा १० वटा शाखा कार्यालय मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]