August 9th, 2018

बैंकिङ क्षेत्रमा रोजगारीको प्रशस्त अवसर : कस्ता व्यक्तिलाई दिन्छ बैंकले रोजगारी ?

गोविन्द ढकाल, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन । केही समय अघि बैंक तथा वित्तीय संस्थाहरुको संख्या झण्डै ३ सयको हाराहारीमा थियो ।  नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याए पश्चात बैंक तथा वित्तीय संस्थाहरुको संख्या क्रमशः कम हुँदै आएको छ । बैंकको संख्या घटेपनि संजाल बढेको छ । त्यसैले, बैंकिङ क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको छ ।

मेनेजमेन्ट विद्यार्थीलाई अपरचुनिटी
असोज महिनाभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याइसक्न राष्ट्र बैंक लागीपरेको छ । बैंक तथा वित्तीय संस्थाहरु गाउँ गाउँ सम्म विस्तार हुनका लागि कर्मचारीको आवश्यकता पर्दछ । वित्तीय संस्थामा आउने कर्मचारी भनेको मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरु हुन् । तर,  अहिलेका मानिसहरुमा इनर्जी छैन । बैंकको सिस्टम मात्रै जानेको भरमा इगो लिएर बसेका छन् । यस्ता व्यक्तिहरुले बैंकमा जोखिम सिर्जना गर्न सक्ने भएकाले बैंकहरु कर्मचारी छनौटमा एकदमै संयम् हुन्छन् । बैंक तथा वित्तीय संस्थामा काम गर्ने आउने कर्मचारीहरु इमान्दार, मेहनती, लगनशिल र क्षमता भएको हुनु जरुरी छ । 

बाह्य ज्ञानको आवश्यकता
शैक्षिक योग्यता आवश्यकताको कुरा हो । तर, बैंक चलाउन शैक्षिक योग्यताका साथमा बाहिरी ज्ञानहरुको पनि आवश्यकता पर्दछ । बैंकमा जागीर खान चाहनेले पहिले बैंकभित्र केके कुरा हुन्छन् ? बैंकिङ जोखिम के हो ? बैंकिङ क्षेत्रका अवसरहरु केके हुन् ? लगायतका विषयमा पनि राम्रोसँग जानकारी हासिल गर्नुपर्दछ । बैंकमा जागीर खाने मेनेजमेन्ट विद्यार्थीहरुले नै हो । तर, यस्ता कुराहरु कोर्समा हुँदैनन् । कुनै पनि बैंकमा अन्तर्वार्ताका लागि जाँदा उक्त बैंकको बारेमा सबै जानकारी हुनुपर्छ । साथमा, बैंकिङ क्षेत्रमा पछिल्ला खबरहरु अध्ययन गर्नुपर्छ । नयाँ नीतिनियमहरु थाहा भएको हुनुपर्छ । कतिपय व्यक्तिलाई बैंक के हो ? के काम गर्छ ? बैंकले फाइनान्सिङ कसरी गर्छ ? लगायतका सामान्य कुराहरुमा पनि ज्ञान हुँदैन । यस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।

बैंकमा इनर्जेटिक कर्मचारीको खाँचो
अहिलेका विधार्थीहरुमा इनर्जी छैन, मैले केही गरेर देखाउछु भन्ने धारणा छैन, म जागिर गर्छु भनेर आँट गरेर आउन सक्ने क्षमता छैन । उनीहरुले एकैचोटी ठूलो पोस्टमा जागिर खान्छु र धेरै पैसा कमाउँछुु भन्ने धारणा राखेका हुन्छन् । त्यस्तो मानसिकताले गर्दा मानिसहरुले केही प्रगती गर्न सक्दैनन् । हरेक कुरा जान्न खोज्ने, मिहनेती, लगनशील र जागरिँला मानिस मात्र बैंकले राख्ने गर्दछ । पैसातिर भन्दा पनि नैतिकतालाई ध्यानमा राखेर काम गर्ने व्यक्तिले बैंकमा जागीर पाउँछ । बैंकमा जागिरका लागि जाने विद्यार्थीहरु उत्सुक, क्षमतावान र बैंक तथा वित्तीय क्षेत्रमा ज्ञान भएका हुनुपर्छ । लगनशील भएर काम गर्यो भने बैंकिङ क्षेत्रमा राम्रो भबिष्य छ । 

नातागोताबाट चल्दैन बैंक
बैंक तथा वित्तीय संस्थामा आफ्नो मान्छे भन्दा पनि बैकलाई बैंक चलाउन सक्ने मानिसको खाँचो हुन्छ । त्यसकारण नाताबाट भन्दा पनि क्षमताबाट नै बैंक तथा वित्तीय संस्थामा जागिर खान सकिन्छ । कसैका दाईभाई, साली भेना र अरु नातागोताहरुलाई जागिरमा राखेर सम्भव हुँदैन । स्वच्छ क्वालिटी भएको मानिसलाई राखेर मात्रै बैंक अघि बढ्न सक्छ । 

अर्धज्ञानको समस्या
अहिलेका विद्यार्थीहरुमा अर्धज्ञानको समस्या रहेको छ । मानिसहरु न त पूर्ण रुपमा नेपाली जान्छन् न त अंग्रेजी नै । बोलाई र लेखाई दुबैमा यो समस्या छ । उच्च तहको अध्ययन गरेका व्यक्तिहरु टाइपिङ जान्दैनन् । नेपाली टाइपिङ जानेका व्यक्ति त भनै कम छन् । त्यसैले, पहिले आफूलाई हरेक तर्फबाट दक्ष बनाएर मात्रै बैंकमा जागीरका लागि एप्लाई गर्नुपर्छ । दक्ष मानिसलाई बैंकले सँधै प्राथमिकतामा राख्छ । बैंकिङ करियरबारे मिडिया इन्टरनेसनलले आयोजना गरेको एक कार्यक्रममा व्यक्त बिचारमा आधारित 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]