Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्पर्स लघुवित्तको शाखा संख्या २० पुग्यो, एकै साथ पाँच शाखा विस्तार 

२०७५ श्रावण १० गते

स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । पोखरा लेखनाथ महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले तनहुँको ऋषिङ्ग गाँउपालिकाको मानपुर, गोरखाको भिमसेन गाउँपालिकाको घ्याम्पेशाल, गुल्मीको छत्रकोट गाउँपालिकाको खज्र्याङ्ग, नवलपुरको वुङ्गदीकाली गाउँपालिकको डेढगाउँ र परासीको बर्दाघाट नगरपालिकाको भुताहामा गरी ५ वटा नयाँ शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाहरुमा सदस्यहरुलाई प्रथम कर्जा वितरण गर्दै शाखाको औपचारीक शुभारम्भ गरिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

वित्तीय संस्थाले थप नयाँ शाखासहित हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ । हाल ५.६० करोड चुक्ता पूँजी भएको यस वित्तीय संस्थाले १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायिक तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन भएको स्पर्स लघुवित्तले पृथक तरिकाले लघुवित्त सेवालाई समावेशी बनाउँदै सबै क्षेत्रका जनताको लागि उपयुक्त हुने किसिमको कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको आवश्यक्ता र चाहनालाई ख्याल राखी कर्जा तथा बचत सेवामा विविधिकरण गर्दै सदस्यहरुको हित हुने खालका अन्य कार्यक्रमहरु विस्तार गर्ने रणनीति लिएको कुरा प्रमुख कार्यकारी अधिकृत सजल खड्काले  बताए ।

वित्तीय संस्थाले विभिन्न वीमा कम्पनीहरुको कर्पोरेट एजेन्ट भई सदस्यहरुको जीवन विमा, बालीनाली तथा पशुपंक्षीहरुको वीमा, कर्जाको वीमा जस्ता कार्यक्रमहरु संचालन गरी ग्राहक सदस्यहरुको हितलाई तथा व्यापार ब्यवसायलाई सुरक्षा प्रदान गर्ने खालका कार्यक्रहरु संचालन गर्दै आएको छ । वित्तीय संस्थाले विभिन्न रेमिट्यान्स कम्पनीहरुको सब एजेन्ट भई देश भित्र रकम पठाउन तथा पाउन र विदेशबाट पठाएको रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न भावि दिनमा मोबाइल बैंकिङ्ग, एबिबिस, एसएमएस नोटिफिकेशन, चेकको प्रयोग जस्ता कार्यक्रमहरु थप गर्नुका साथै दुर्गम भेगमा संचालित शाखाहरुबाट विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखारहित बैकिङ्गको एजेन्ट भई कार्य गर्ने संस्थाको भावी योजना रहेको छ ।

निकट भविश्यमा सर्वसाधारणलाई २,४०,००० कित्ता शेयर निष्काशन गर्ने तयारी गरिरहेको यस वित्तीय संस्थाले २०७५ असार मसान्त सम्म १५ वटा शाखा मार्फत ८,६५४ जना सदस्यहरुमा ३८ करोड ४० लाख उठाउन बाकी कर्जा र तीनीहरुबाट ५ करोड ७५ लाख बचत संकलन गरिसकेको छ ।

Ad