२०७१ अषाढ १८ गते स्थापना भएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो बार्षिक उत्सवको उपलक्ष्यमा ५५ जना अपागं बहिरा बिधार्थीहरुको लागि ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । धादिङबेसीका समाजसेवी, बुद्धिजिवी, कर्मचारी, पत्रकारहरुको सहभागितामा आयोजित एक कार्यक्रममा मुरली भंज्याङमा रहेको स्वावलम्वी बहिरा अधारभुत विद्यालयका बिधार्थीहरुको लागि उक्त रकम बराबरको शैक्षिक, खेलकुद र भौतिक समाग्री वितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नेशनल माइक्रोफाइनान्सले चार वर्षको अबधिमा ३३ जिल्लाको ४० वटा शाखा कार्यालय मार्फत ६२ हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरेको बताए । उनका अनुसार, माइक्रोफाइनान्सको लगानीमा रहेको कर्जा दुई अर्ब ४० करोड रुपैयाँ रहेको छ भने संस्थाले सदस्यहरूबाट रू.७३ करोड बचत परिचालन गरेको छ । सदस्यहरुको हितलाई ध्यानमा राखेर संस्थाले सामाजिक सुरक्षाकोष समेत खडा गरेको र विभिन्न विप्रेषण सेवा समेत सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत यादवले बताए ।
आगामी दिनमा सदस्यहरूको क्षमता अभिवृद्धिलाई विभिन्न सिपमुलुक तालिममा जोड दिने संस्थाको योजना छ । चौथो बार्षिकोत्सवको उपलक्ष्यमा संस्थाको ४० वटै शाखा कार्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरिएको थियो ।