फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नं ३, ४ र ५ मा रहेको आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका ऋण विभाग प्रमुख तथा शाखा प्रबन्धकहरुलाई एक दिवसीय ऋण व्यवस्थापन तालिम प्रदान गरेको छ । कास्कीको पोखरामा आयोजित तालिममा ३२ साझेदार संस्थावाट ४९ जनाको सहभागिता रहेको थियो ।
लघुवित्त वित्तीय संस्थाबाट आफ्ना ग्राहक सदस्यहरुलाई गरिने ऋण लगानीलाई व्यवस्थित तथा सुरक्षित तुल्याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिमको ऋण विश्लेषण तथा ऋण सदुपयोगिताको अनुगमन विषयमा फस्र्ट माइक्रोफाइनान्सका बरिष्ठ प्रबन्धक बाबुराम न्यौपानले, धितो मूल्यांकन विषयमा प्रमुख कार्यकारी अधिकृत भेष राज पन्थीले, वित्त विश्लेषण विषयमा फस्र्ट माइक्रोफाइनान्सका सुपरिवेक्षण विभाग प्रमुख देवराज नेपालले र ऋणको जोखिम व्यवस्थापन विषयमा फस्र्ट माइक्रोफाइनान्सका का.मु. नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले सहजीकरण गरे ।
सहभागीहरुको तर्फबाट उक्त तालिमको मूल्यांकन गर्ने क्रममा गणपति लघुवित्त वित्तीय संस्थाका प्रभु राज थापाले तालिमका विषय बस्तु र सहजिकरण एवं अन्तरक्रियाले लघुवित्त वित्तीय संस्थाहरुको ऋण व्यवस्थापन गर्नका लागि निकै उपलब्धी मुलक रहेको बताए ।
महिला सहभागीहरुको तर्फवाट तालिमको मूल्यांकन गर्ने क्रममा उन्नती माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकी गीता पौडेलले तालिमले लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयहरुवाट गरिने ऋण लगानीलाई व्यवस्थित बनाउन उपयोगी टिप्सहरु दिएको बताइन् ।
उक्त तालिमको समापनको कार्यक्रममा अतिथीको रुपमा उपस्थित फस्र्ट माइक्रोफाइनान्सको साझेदार संस्था नेष्डो नेपालको कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईले लघुवित्त सेवावाट आत्म सन्तुष्टी लिँदै लघुवित्तको मर्म र भावना अनुरुप कार्य गर्न सहभागीहरुलाई अनुरोध गरे ।
तालिमको अन्तमा फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले तालिमबाट सिकेका कुराहरु आ आफ्नो संस्थामा गएर लागु गर्न आग्रह गर्दै सक्रिय सहभागिताका लागि सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिए ।