रोयल बैंक अफ स्कटल्यान्ड (आरबीएस)ले भारतमा बैंकिङ कारोबार बन्द गर्ने भएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै यो वर्षको अन्त्यसम्म बैंकिङ कारोबार बन्द गरी भारतबाट निस्कने योजना रहेको जनाएको छ । हालसम्म विभिन्न ३८ देशमा बैँकिङ कारोबार गर्दै आएको बैँक विश्वव्यापी बैंकिङ कारोबार १३ देशमा मात्र सीमित गर्ने योजनाअन्तर्गत भारतबाट बाहिरिन लागेको हो ।
आरबीएसले भारतमा रहेका १० वटै शाखा बन्द गर्ने छ । आरबीएसको भारतस्थित बैंकिङ कारोबारमा ४ सय कामदार कार्यरत छन् । आरबीएसले लागत कटौती गर्न करिब ८ वर्षदेखि कार्य अगाडि बढाउँदै आएको छ । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकले यो कार्य सुरु गरेको थियो ।
यसअघि बारक्लेजले भारतमा नगद कारोबार बन्द गर्ने जनाएको थियो । बारक्लेजको समग्र करपूर्वको मार्च मसान्तसम्मको त्रैमासिक मुनाफा २५ प्रतिशतले तल झर्यो । एक वर्षअघि सोही अवधिमा मुनाफा १.०५ अर्ब बेलायती पाउन्ड थियो । तर, यो मार्चमा यो ७९ करोड ३० लाख बेलायती पाउन्डमा झरेको छ ।
सन् २०१५ मा स्ट्यान्डर्ड चार्टर्डले पनि भारतका धेरै कारोबार बन्द गरेको थियो । २३ फेब्रुअरीमा स्ट्यान्डर्ड चार्टर्डले भारतबाट ९८ करोड १० अमेरिकी डलरबराबरको घाटा भएको जनाएको थियो ।