यतिबेला बैँक तथा वित्तीय संस्थाहरुमा पुँजी वृद्धिको चटारो छ । राष्ट्र बैँकको नीतिअनुसार वि.सं. २०७४ असार मसान्तसम्मा वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले २.५ अर्ब, ४–१० जिल्ला क्षेत्र भएका विकास बैंकले १.२ अर्ब र १–३ जिल्ला क्षेत्रमा कारोबार गर्ने अनुमति पाएका विकास बैंकले आफ्नो चुक्ता पुँजी ४० करोड रुपैँया पुर्याउनु पर्नेछ । वित्त कम्पनीको हकमा राष्ट्रिय स्तरका लागि ८० करोड, एकदेखि तीन जिल्लामा कारोबार गर्नेले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेछ । पुँजी वृद्धिका लागि बैंकका सामु अन्य वित्तीय संस्थासँग मर्ज गर्ने, खरिद गर्ने, बोनस र राइट सेयर जारी गर्ने लगायतका विकल्प छन् ।
पुँजी वृद्धिका लागि राष्ट्र बैँकले तोकेको समयसीमा नजिकिँदै छ । यता, फाइनान्स कम्पनिहरुको अवस्था हेर्दा भने न्यूनतम चुक्ता पुँजी कायम गर्ने कार्य कठिन देखिएको छ । हालसम्म नेपालका अधिकांश फाइनान्स कम्पनिहरुको चुक्ता पुँजी २० करोड रुपैँयाभन्दा कम नै रहेको पाइएको छ । हाल सञ्चालनमा रहेका ४४ वटा फाइनान्स कम्पनिहरुमध्ये एक दर्जनको चुक्ता पुँजी २० करोड रुपैँयाभन्दा तल रहेको छ । हाल ४६ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेकोमा सम्झना र हिमालय फाइनान्स लिक्वीडेसनको क्रममा रहेका छन् । बाँकी रहेका झण्डै दुई दर्जन फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी २० करोडभन्दा माथि नै रहेको छ ।
कुन कम्पनिको चुक्ता पुँजी कति ?
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, आवास फाइनान्सको चुक्तापुँजी २० करोड ८ लाख रहेको छ । त्यस्तै, एनआइडिसी क्यापीटल मार्केटको लिमिटेडको २३ करोड ३ लाख ५६ हजार, नेपाल सेयर मार्केटस् एण्ड फाइनान्सको २३ करोड ३३ लाख तीन हजार, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २२ करोड, इन्टरनेशनल फाइनान्स एण्ड लिजिङको २० करोड ८ लाख ८० हजार, प्रोगे्रसिभ फाइनान्सको २० करोड १६ लाख, सेन्ट्रल फाइनान्सको २४ करोड ६ लाख ५५ हजार, हाम्रो मर्चेन्ट फाइनान्सको २० करोड, युनिक फाइनान्सियल इन्स्टिच्युसनको २३ करोड ८ लाख ६१ हजार, मञ्जुश्री फाइनान्सको २५ करोड ६५ लाख र जेविल्स फाइनान्सको चुक्ता पुँजी २५ करोड ६ लाख ८५ हजार रहेको छ ।
कतिपय फाइनान्स कम्पनिहरुको चुक्ता पुँजी त २० करोड पनि पुगेको छैन । नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार, नेपाल फाइनान्सको १३ करोड ५० लाख, युनियन फाइनान्सको १७ करोड ६ लाख ५९ हजार, ललितपुर फाइनान्सको १७ करोड ७ लाख ९५ हजार, जनरल फाइनान्सको १३ करोड २ लाख २३ हजार, प्रिमियर फाइनान्सको १२ करोड ७ लाख एक हजार, अरुण फाइनान्सको १५ करोड, सिर्जना फाइनान्सको १३ करोड ४ लाख ४० हजार, वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १८ करोड १ लाख ९८ हजार, एभरेष्ट फाइनान्सको १३ करोड ७ लाख ५२ हजार र कुवेर मर्चेन्ट एण्ड फाइनान्सको चुक्ता पुँजी १५ करोड रहेको छ । यस्तो अवस्थामा उनीहरुका लागि आफ्नो पुँजी बढाएर ८० करोड पुर्याउनु कठिन मात्रै हैन असम्भव नै देखिन्छ ।
कतिपय कम्पनिहरुले भने आफ्नो चुक्ता पुँजी बढाएर राष्ट्र बैँकले तोकेको न्युनतम सीमामा पुर्याइसकेको छन् । जसअनुसार, नारायणी नेशनल फाइनान्सको चुक्ता पुँजी ८० करोड २३ लाख ३ हजार रहेको छ भने मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको चुक्ता पुँजी ९३ करोड ५ लाख ७ हजार रहेको छ ।
गुर्खा विकास बैँक र काठमाडौँ फाइनान्स मर्ज भएर बनेको गोर्खाज फाइनान्सको चुक्ता पुँजी ५७ करोड ८ लाख ६६ हजार रहेको छ । त्यस्तै, क्रिष्टल फाइनान्सको ७० करोड, आइसीएफसी फाइनान्स ६४ करोड ४५ लाख र सेती फाइनान्सको चुक्ता पुँजी ५५ करोड ६६ लाख, पोखरा फाइनान्सको ४९ करोड १ लाख १२ हजार, महालक्ष्मी फाइनान्स लिमिटेडको ४८ करोड ३ लाख, भक्तपुर फाइनान्सको ४७ करोड ४ लाख ४१ हजार, सिनर्जी फाइनान्सको ४७ करोड ४ लाख ४१ हजार, युनाइटेड फाइनान्सको ४६ करोड ३ लाख ९३ हजार र लुम्बिनी फाइनान्स एण्ड लिजिङको चुक्ता पुँजी ४१ करोड २ लाख ५० हजार रुपैँया रहेको छ । त्यसैगरी, नमस्ते वित्तीय संस्था ३७ करोड ५० लाख, रिलायन्स लोटस फाइनान्सको ३७ करोड १ लाख ४३ हजार, गुडविल फाइनान्सको ३६ करोड तीन लाख, कास्की फाइनान्स ३३ करोड २ लाख ५३ हजार, मल्टीपोर्स फाइनान्स ३२ करोड २० लाख, सिद्धार्थ फाइनान्सको ३२ करोड चार लाख ३१ हजार, जानकी फाइनान्सको ३१ करोड ७८ लाख, सगरमाथा फाइनान्सको ३१ करोड ८ लाख ७७ हजार, पश्चिमाञ्चल फाइनान्सको ३० करोड तीन लाख ५१ हजार, क्यापिटल, नेपाल एक्सप्रेस फाइनान्स २९ करोड ८ लाख ४५ हजार र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २९ करोड ३ लाख ७४ हजार चुक्तापुँजी रहेको राष्ट्र बैँकले जनाएको छ ।
राष्ट्र बैंकको न्यूनतम चुक्ता पुँजीसम्बन्धि पूरानो व्यवस्थाअनुसार वि.स २०७० को असार मसान्तसम्म नै फाइनान्सहरुले २० करोड रुपैँया चुक्ता पुँजी कायम गरिसक्नुपर्ने थियो । अझै पनि ती कम्पनीहरुको चुक्ता पुँजी कमजोर हुनुले २०७४ को असार मसान्तसम्ममा ६० करोड रुपैयाँको पुँजी वृद्धि असम्भव रहेको प्रतित हुन आउँछ ।