नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बिपन्न नागरिकको जीवनस्तर उकास्न लघुवित्त संस्थाहरुको भूमिका अत्यन्तै प्रशंसायोग्य भएको बताएका छन् । राजधानीको याक एण्ड यति होटेलमा चलेको ‘राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३’ अन्तिम समारोहमा सोमबार बोल्दै डेपुटी गभर्नर श्रेष्ठले कमर्सियल बैंकको तुलनामा लघुवित्त संस्थाहरुले नेपालको गरिबी न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । ‘कमर्सियल बैंकहरु बरु जरिवाना तिर्न तयार हुन्छन् । तर, राष्ट्र बैंकको नीतिअनुसार ग्रामीण क्षेत्रमा जान अटेर गर्छन् । लघुवित्त संस्थाहरुले त्यही ग्रामीण भेगका जनताको जीवनस्तरसंग गाँसिएर काम गरिरहेका छन् ।’ उनले महिलाहरुको जीवनस्तर उकास्न र उनीहरुमा उद्यमशीलता विकास गर्न पनि लघुवित्त क्षेत्रले निकै सहयोग पुर्याएको बताए । डेपुटी गभर्नर श्रेष्ठले लघुवित्त क्षेत्रका समस्याहरु समाधानका लागि नीति आवश्यक भए सुझावसहित आउन लघुवित्त संस्थाका अगुवाहरुलाई आह्वान गरे ।
कार्यक्रममा संसदको विकास समितिका अध्यक्ष रविन्द्र अधिकारी, पूर्व सांसद लक्की शेर्पा लगायतले लघुवित्त संस्थाहरुलाई समस्यामुक्त बनाउन सक्ने हो भने नेपालमा गरिबी निवारण र रोजगारी सिर्जना गर्न सहज हुने बताएका थिए ।
आइतबारबाट सुरु भएको सम्मेलन सोमबार (आज) लघुवित्त घोषणापत्र जारी गर्दै सकिएको छ । स्वावलम्बन विकास बैंक, जीवन विकास समाज, सहारा नेपाल लगायतले आयोजना गरेको २ दिने सम्मेलनमा ६५ जिल्लाका झण्डै एक हजार जनप्रतिनिधि सहभागी भएको आयोजकले बताएको छ ।




