Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढ्दो

२०७५ बैशाख २७ गते

बैंकिङ खबर । नेपालमा पहिलो पटक आयोजित क्यापिटल मार्केट एक्स्पो २०१८ले नेपालमा सेयर बजारमा सर्वसाधारणको सहभागीता बढाउने अपेक्षा गरिएको छ । विहीबार एक्स्पोको समापन समारोहमा मन्तव्य राख्दै सरोकारवालाहरुले यस्तो अपेक्षा व्यक्त गरेका हुन् । 

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्र सिंह साउदले एक्स्पोबाट लगानीकर्ताले सेयर बजारबारे धेरै कुरा जान्ने अवसर पाएको र आगामी दिनहरुमा लगानी गर्दा ती कुराहरुलाई ध्यानमा राख्ने विश्वास व्यक्त गरे ।

मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले दुई दिनको एक्स्पोबाट लगानीकर्ताले चाहेजति जानकारी लिन नसकेको भएतापनि उनीहरुमा सेयर बजारप्रति जिज्ञासा जागेको बताए । एक्स्पोबाट अवलोनकर्ताहरुले पुँजी बजारसँग सम्बन्धित कुन कम्पनीले कस्तो सेवा दिन्छन् भन्ने विषयमा बुझ्ने अवसर पाएको उनले बताए ।

त्यस्तै, ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले क्यापिटल मार्केट एक्स्पोले सेयर ब्रोकरको व्यवसाय विस्तारमा सहयोग गरेको बताए । पुँजी बजारको आधा अंग धितोपत्र दलाल व्यवसायीहरु रहेको भन्दै उनले यस्ता कार्यक्रमहरु ब्रोकरहरुकै तर्फबाट पनि समयसमयमा गरिराख्नुपर्ने महशूस गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले नेपालको सेयर बजार भर्खर सुरु भएको र यसमा प्रवेश गर्ने लगानीकर्ताहरुको भविष्य उज्वल रहेको बताए । सेयर बजारमा विगतमा भएका आरोह अवरोहलाई अध्ययन गरेर लगानी गर्ने हो भने सुरक्षित हुने उनले बताए । यस विषयमा एक्स्पोले लगानीकर्ताहरुलाई स्पष्ट पारेकोमा उनले विश्वास व्यक्त गरे ।

धितोपत्र बोर्डका अध्यक्ष एवम् कार्यक्रमका सभापति डा. रेवत बहादुर कार्कीले एक्स्पोमा देखिएको उल्लेख्य सहभागीताले कार्यक्रमको उद्देश्य पूरा भएको स्पष्ट पारेको बताए । 

कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सीईओ देव प्रकाश गुप्ता र धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु बहादुर जीसीले पनि आआफ्नो मन्तव्य राखेका थिए भने धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारीले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रममा सूचनामूलक स्टल संचालन गरेका कम्पनीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

दुई दिनसम्म संचालन भएको एक्स्पोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए । हरेक दिन दुई दुई वटा गरी जम्मा चार वटा सत्रमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएको थियो । पअिलो दिन धितोपत्र बजार तथा बजार पूर्वाधार र मर्चेन्ट बैंकिङ सेवा तथा शाख मूल्यांकन सेवा विषयक अन्तरक्रिया गरिएको थियो भने दोस्रो अर्थात अन्तिम दिन धितोपत्र बजार सुधारका प्रयास तथा आगामी प्राथमीकता र धितोपत्र दलाल व्यवसाय सेवा विषयक अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज, सेयर ब्रोकरहरु, मर्चेन्ट बैंकर, सूचिकृत कम्पनी लगायत पुँजी बजारसँगसम्बन्धित कम्पनीहरुको १२०भन्दा बढी सूचनामूलक स्टलहरु संचालन गरिएका थिए । कार्यक्रममा हजारौँको संख्यामा अवलोकनकर्ताहरुको सक्रिय सहभागीता रहेको थियो ।