झण्डै २० वर्षपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) विनियमावली संशोधन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार प्रस्तावित धितोपत्र सूचीकरण विनियमावली सार्वजनिक गरेसँगै केही वर्षअघिदेखि अवधारणामा सीमित कम्पनी वर्गीकरणको नयाँ व्यवस्थाले मूर्तरूप पाउने भएको छ । प्रस्तावित विनियमावलीले सर्वसाधारणलाई शेयर जारी नगरेका कम्पनी पनि सूचीकृत भइरहन पाउने र २ वर्षसम्म नेप्सेमा सूचीकरण हुनसक्ने व्यवस्था समेत गरेको छ ।
नेप्सेको प्रस्तावित सूचीकरण विनियमावलीले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा कम्पनीहरूलाई वर्गीकरण गर्ने नीति लिएको छ । सार्वजनिक विनियमावलीमा गरिएको यस्ता संस्थाको विशेषता भने उल्लेख गरिएको छैन । हाल कार्यान्वयनमा रहेको सूचीकरण विनियमावली २०५३ अनुसार नेप्सेले सूचीकृत कम्पनीहरूलाई ‘क’ र ‘ख’ दुई समूहमा वर्गीकरण गर्दै आएको छ ।
कुन समूहमा कस्ता कम्पनि ?
लगातार नाफामा भएका, ५ वर्षदेखि लगातार २० प्रतिशतभन्दा बढी लाभांश दिएका, २ करोडभन्दा बढी चुक्तापूँजी भएका र १ हजारभन्दा बढी साधारण शेयरधनी रहेका कम्पनीलाई समूह ‘ए’मा राखिने भएको छ । त्यस्तै, ‘बी’ वर्गमा भने ‘ए’मा पर्ने कम्पनीसरहकै विशेषता भएका तर लाभांश वितरणमा भने कञ्जुस्याइँ गर्ने खालका कम्पनीलाई रराखिने भएको छ । ५ वर्षदेखि १० प्रतिशतसम्म लाभांश बाँड्ने कम्पनी यो वर्गमा पर्ने छन् । नयाँ समूहका रूपमा देखिने ‘जेड’ समूहमा भने वित्तीय विवरण र संस्थागत सुशासनमा समस्या रहेका कम्पनीहरू पर्नेछन् । २ वर्षदेखि सञ्चालनमा समस्यामा रहेका कम्पनीहरू यो वर्गमा पर्छन् । यो वर्गमा झर्नुको स्पष्टीकरण ३ महीनासम्म स्टक एक्सचेञ्जमा नदिने कम्पनीको सूचीकरण खारेजसम्म हुनेछ । त्यस्तै, अस्तित्व थाहा नभएका कम्पनीहरू पनि यही वर्गमा पर्नेछन् । तर, वर्षौंदेखि अस्तित्व थाहा नभएका कम्पनीहरूलाई नेप्सेले बेलाबखत सूचीकरणबाटै हटाउने गरिरहेकाले यस्ता कम्पनी केही निश्चित समय मात्र यो वर्गमा रहने सम्भावना छ । नयाँ बन्ने ‘जी’ समूहमा भने नयाँ सूचीकरण भएका र अन्य वर्गमा स्तरोन्नति हुन नसकेका कम्पनी पर्नेछन् ।
सो विनियमावली स्विकृतिका लागि नेप्सेले बैशाख ३० गते बोर्डमा पठाएको छ । यो विनियमावली पारित भएपछि मात्रै वर्गाीकरणको व्यवस्था कार्यान्वयनमा आउने छ । हाल नेप्सेमा २ सय ३२ कम्पनि सूचीकृत रहेकोमा १ सय ३५ कम्पनि क वर्गामा छन् । नयाँ व्यवस्था भएपछि क वर्गका कम्पनिको संख्या उल्लेख्य मात्रामा घट्ने छ । शेयर कारोबारलाई प्रतिष्पर्धी, सुरक्षित, विश्वसनीय र सहज बनाउन धितोपत्र सूचीकरण विनियमावली परिमार्जन गरिएको नेप्सेले जनाएको छ ।